काठमाडौं । दैलेख जिल्ला कर्णाली प्रदेशअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्लाको बीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो।
यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौँबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । यही जिल्लाको डुङ्गेश्वर गांउपालिका भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा रहेको छ । यही गाउँपालिकामा २०४३ सालमा मध्यम वर्गीय परिवारमा जन्मिएका रेशमबहादुर बुढाको परिवार खेती किसानमा व्यस्त रहने गरेका थिए ।
गाउँमा हुर्किने क्रममा ढुंगामाटोसँग पिरती गाँसिए सँगै वनमा पशुचौपाया चराउँदा वनका बोटबिरुवा र चराचुरुङ्गीसँग मितेरी साइनो जोडिएको उनले पत्तै पाएनन् । घरनजिकै विद्यालय भएकाले पनि केही सहज महसूस भएको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘१२ कक्षासम्मको विद्यालय घरनजिकै भएकाले फुर्सदको समयमा बुवाआमालाई घरको काम सघाउने गर्थे । गाउँघरको परिवेश अत्यन्त रमाइलो रहेको उनी बताउँछन् ।’
बाल्यकालदेखि पढाइ
उनको बाल्यकाल एकदमै सरल र आनन्दका साथ बित्यो । साथीहरूको साथमा खोलानाला, पाखापखेराको स्पर्श सम्झिनयोग्य रहेको उनी बताउँछन् । विद्यालय जाँदा पनि अलग्गै माहोल थियो । उनले सीता जनसहयोग मावि दैलेखबाट २०५८ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । सोही विद्यालयबाट उनले मानविकी विषयमा १२ कक्षासम्मको अध्ययन गरे । विद्यालयको वातावरण र विद्यार्थीको रुचि पनि अत्यन्त उत्कृष्ट रहेको उनी बताउँछन् ।
उनको त्यसपछिको यात्रा सुर्खेतमा तय भयो । उनले त्यहीँबाट स्नातकको अध्ययन पूरा गरेपछि स्नातकोत्तर गर्न काठमाडौं आएर त्रिविमा भर्ना भए । गाउँघरमा जागिर खाने भनेको शिक्षक मात्र हो भन्ने मान्यता भएकाले उनी काठमाडौं अध्ययन गर्न मात्र नभएर शिक्षक बन्ने उद्देश्य बोकेर आएका थिए । आफूलाई पनि शिक्षकभन्दा अरु पेशा थाहा नभएको उनी बताउँछन् । बुवाआमाको चाहना पनि छोरो पढे–लेखेको छ, शिक्षण पेशामा आवद्ध होस् र गाउँमै बसेर शिक्षाको ज्योति अरुलाई बाड्दै, आफूसँगै बसे हुन्थ्यो भन्ने थियो । उनी पनि सोही अनुसारको तयारी गरेर काठमाडौं आएका थिए ।
शिक्षकको सपना त्यागेर निजामती सेवाको यात्रा
काठमाडौं आएर त्रिविमा भर्ना भएपछि उनको सोच परिवर्तन भयो । साथीहरूसँगको भेटघाट बाक्लिन थाल्यो । साथीको संगतले आफ्नो उद्देश्य परिवर्तन भएको उनी बताउँछन् । उनी भन्छन्, ‘लोक सेवा पढ्ने साथीहरूले गर्दा नै मेरो सोचमा परिवर्तन आएको हो ।’ त्यसबेलासम्म पनि लोक सेवाबारे खासै थाहा नभएको उनी बताउँछन् । ‘लोक सेवा कतिखेर खुल्छ, कहाँ खुल्छ भन्ने केही थाहा थिएन,’ उनले भने । त्यहाँ लोक सेवा पढ्दै गरेका साथीहरूसँग उनको भेट भयो । साथीहरूले नै उनलाई लोक सेवाबारे बताएका थिए । त्यसपछि उनी पनि लोक सेवाको तयारी गर्नतिर लागे । उनले २०६७ सालमा स्नातकोत्तर पूरा गरे । त्यसपछि उनले २०६९ सालमा खरिदार पदमा नाम निकाल्न सफल भए ।
त्यसपछि २०७१ सालमा उनी नायव सुब्बा पदमा नाम निकाल्न सफल भए । २०७४ सालदेखि उनी नेपाल सरकारको अधिकृत पदमा रहेर कार्यसम्पादन गर्दै आएका छन् । संविधान जारी भएपछि कर्मचारी समायोजन भयो, सबै आफ्नो अनुकूल पर्ने ठाउँमा बसे । उनी भन्छन्, ‘हामी सबैभन्दा अन्तिम शाखा अधिकृत भएकाले त्यसबेला स्थानीय तहमा जान बाध्य भयौं ।’ त्यसपछि उनले नारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर करीब ३ वर्ष कार्यसम्पादन गरे । त्यसपछि उनले नौमूले गाउँपालिकामा करीब २० महिना काम गरेपछि हाल जिल्ला समन्वय समिति दैलेखमा कार्यसम्पादन गरिरहेका छन् ।
कर्मचारीतन्त्र प्रतिको बुझाइ
निर्वाचित जनप्रतिनिधि सीमित वर्षका लागि मात्र रहने सरकार हो भने कर्मचारीतन्त्र स्थायी सरकार हो । एउटा राज्यलाई चलाउन चाहिने कानून, कर्मचारी, निर्वाचित प्रतिनिधि आदिबाट आएका कुराको सही समायोजन गर्नु नै कर्मचारीतन्त्रको हो । देश संघीयतामा गएपछि ३ तहका सरकार बनेका छन् तर अहिलेसम्म पनि निजामती ऐन जारी हुन सकेको छैन । कर्मचारीतन्त्रप्रति पहिला जति विश्वास हुन्थ्यो, अहिले यसमाथि प्रश्न उठ्न थालेको छ ।
कर्मचारीतन्त्र प्रक्रियामुखी भएकाले पनि काम सम्पन्न गर्न समय लाग्छ । यसबारे जनतालाई बुझाउन नसक्दा काम समयमा नगरेको आरोप पनि लाग्ने गरेको छ । यो आरोप लाग्नु स्वाभाविक पनि हो, कर्मचारीतन्त्रलाई कानूनले बाधेको हुन्छ । कर्मचारीतन्त्रमा कतिपय नियम पनि कार्यात्मक नभएको अवस्था छ । कामलाई प्रक्रियामुखी बनाएर लाभ लिन सकिन्छ कि भनेर केही व्यक्ति लागेको पाइन्छ । निजामती क्षेत्रमा मान्छे जुन उत्साह र उमंगका साथ लाग्ने गर्छन्, भित्र सोचेजस्तो सरल र सहज वातावरण छैन ।
आर्थिक चुनौती वा सहजता
एउटा व्यक्तिले कस्तो जीवनशैली जिउन चाहन्छ भन्ने कुरामा भर पर्छ । । ठूल्ठूला घर बनाउने, महंगा गाडी चढ्ने, महंगा कपडा लगाउने कुरा सरकारी तलब–सुविधाले पुग्दैन । यस्तो जीवनशैली जिउन चाहने व्यक्तिले कुनै व्यापार व्यवसाय गर्नुपर्छ । कर्मचारीलाई उपलब्ध गराइनुपर्ने सेवा, सुविधा र सहुलियतमा आवास, स्वास्थ्य, पोषण र शिक्षा, आराम र मनोरञ्जन, बिदा, सञ्चय कोष, बिमाजस्ता विषयको उचित लागू र नियमन नभएको उनी बताउँछन् ।
उनी भन्छन् ‘तलब सुविधा कम नै छ तर जीवन जिउनै नपुग्ने भने होइन ।’ दाल–भात खान, छोराछोरीलाई सामान्य विद्यालयमा पढाउन, सामान्य जीवनयापन धान्न एक जनाको तलबले अप्ठ्यारो हुन्छ तर परिवारमा अरू पनि कमाउने हुँदा सहज नै हुन्छ । सबै कर्मचारीले सामान्य जीवन जिउँदा भ्रष्टाचार पनि कम हुने उनी बताउँछन् ।
निजामतीमा आउन चाहनेलाई सुझाव
निजामती क्षेत्र जनताको सेवा गर्ने थलो हो । राज्यको मानो खाएपछि जनतालाई सेवा दिनु कर्मचारीको दायित्व पनि हो । कमाउने मनसाय लिएर कोही यस क्षेत्रमा प्रवेश गर्न चाहने व्यक्ति यस क्षेत्रमा सफल नहुने उनको तर्क रहेको छ ।
व्यापार र अन्य जागिर जस्तो निजामती क्षेत्र कमाउने थलो होइन । सम्पत्ति कमाउन चाहनेले यस क्षेत्रमा प्रवेश नगर्दा उचित हुन्छ । जो सेवा गर्छु भन्ने उद्देश्य साथ आउँछ, उसलाई यस क्षेत्रमा रहेर काम गर्दा सहज अवस्था सिर्जना हुन्छ ।