धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ।
आज सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।’
देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका ३ वटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरंग र जनतामा भरोसा देखिएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उनले भने, ‘मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।’
प्रधानमन्त्री प्रचण्डले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानून पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताए । उनले भने, ‘निजामती सेवा ऐन सदनमा लैजानेबारे अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौता बमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।’
कोशीमा बनेको गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौं, ५ वर्ष यो गठबन्धन जान्छ ।’