काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
११ औंअन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुने छ। अधिवेशनको दिउँसो २ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
एनआरएनएले ११औँ महाधिवेशनलाई २०औँ वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ। सरकार, निजी क्षेत्र र एनआरएनएको संयुक्त आयोजनामा ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नारा र ‘ज्ञान र रुपान्तरण समृद्धिको आधार’ विषयमा केन्द्रित गैरआवासीय एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनकै दौरानमा आज र भोलि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ।
यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। एनआरएनएको अध्यक्ष पदका लागि चार आकाङ्क्षीले प्रतिस्पर्धा गर्दैछन् ।
महाधिवेशनमा अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्माले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको एनआरएनए सचिवालयले जनाएको छ । एनआरएनएको महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।
एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार सङ्गठित सदस्य रहेको बताइन्छ ।