काठमाडौं । नेपालबाट यस बर्ष मनसुन आइतबारदेखि बाहिरिएको छ । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो ।
मनसुनमा पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा अलर्ट जारी भएका थिए । मनसुन नेपाल प्रवेश गरेकै दिनदेखि अविरल रुपमा परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र संखुवासभामा ठूलो मानवीय तथा भौतिक क्षति भएका थिए ।
मनसुन अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कूल ८९२ घटना अभिलेख भएका थिए । विपद्का घटनामा ९२ जनाको मृत्यु भएको थियो भने १६८ जना घाइते भएको भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आज पत्रकार सम्मेलन गरी यो वर्ष विपद्मा परी ३० जना मानिसहरु अझै बेपत्ता भएको जानकारी दिएको हो । मनसुन अवधिमा ६ हजार एक सय ३० परिवार प्रत्यक्ष प्रभावित भएका थिए । त्यस्तै दुई सय ४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । निजी आवासतर्फ मात्रै करिब ३३ करोड रुपैयाँ बराबरको क्षति अनुमान गरिएको प्राधिकरणका प्रवक्ता धुब्र बहादुर खड्काले जानकारी दिए ।
मनसुन अवधिमा १५ वटा पक्की पुल क्षतिग्रस्त हुँदा १ अर्ब २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान प्राधिकरणले गरेको छ । त्यसैगरी २७ वटा झोलुङे पुल क्षति हुँदा १२ करोड, सडक, करिडोर तथा राजमार्गमा भएको क्षतिमा २८ करोड अनुमानित क्षति पुगेको प्राधिकरणले जनाएको छ । खानेपानी संरचनाहरुमा करिब ८ करोडको क्षति अनुमान गरिएको जानकारी खड्काले दिए ।
उनका अनुसार सिंचाइतर्फ ३ करोड ५० लाखको क्षति भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार संचालनमा आइसकेका १३ निर्माणाधीन १७ र लघु २७ गरी ५७ वटा जलविद्युतमा क्षति पुग्दा करिब नौ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।
मनसुन अवधिमा बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी एकजनाको मृत्यु भयो भने ३० जना घाइते भएको प्राधिकरणले जनाएको छ । सो भूकम्पबाट ३ हजार एक ४८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने ११२२४ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक तथ्यांक छ । प्राधिकरणका अनुसार एक २४ सार्वजनिक भवनमा पूर्ण र दुई सय पाँच भवनमा आंशिक क्षति पुगेको छ ।