मनाङ । हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यतिबेला हिमपात भएको थिएन ।
जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए ।
‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ,’ अध्यक्ष गुरुङले भने । उनका अनुसार तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेक लगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपात हुन सुरु भएपछि स्थनीयमा खुशीयाली छाएको छ ।
समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् ।
स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुशी छाएको बताए । ‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ,’ उनले भने ।
हिमपात भएपछि याक, चौंरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए । ‘हिमपातको सुरुआत भएकाले मंसिरको पहिलो हप्तादेखि खर्कबाट याक, चौंरी बेसी झार्ने बेला भएको छ,’ उनले भने ।
हिमाली जिल्लाका मानिसलाई त हिमपात भएपछि खुशी हुने गरेको उनले बताए ।
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए ।
गुरुङले भने, ‘पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, उत्पादन राम्रो हुने आशा लिएका छौं, यस वर्ष समयमा नै सुरु भएको छ ।’
यहाँ उत्पादन हुने स्याउ, करु, जौ, फापर, आलु लगायतका बाली पानी पुग्ने हुन्छ ।