काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई महिनामा मात्रै २० जना भन्दा बढि सरकारी कर्मचारीलाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।
तर सरकारी कर्मचारी घुस सहित रंगेहात पक्राउ पर्न थालेपछि त्यस्ता कर्मचारीले बिचौलिया र एजेन्ट मार्फत घुस रकम असुल गरेर अख्तियार लगायतको निकायबाट बच्ने प्रयास गरेको पाइएको छ ।
पछिल्ला घट्ना
घट्ना नं १: असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परे
घट्ना नं २: असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ
घट्ना नं ३: असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ
घट्ना नं ४: विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो ।
माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु दिन दिनै सार्वजनिक हुने गरेका छन ।
विशेष गरी कार्यालय प्रमुख र उच्च तहका कर्मचारीले घुस लिने काम विचौलिया र एजेन्ट मार्फत गर्ने भएकाले उनीहरु उम्कने गरेको अख्तियारका अधिकारीहरुको दावी छ । अख्तियारले रंगेहात पक्राउ गरेको क्रम हेर्दा प्राय तल्लो स्तरका कर्मचारी मात्रै पर्ने गरेको देखिएको छ ।
अमीन, कार्यालय सहयोगी, खरिदार, सुव्वा र अधिकृत तहका कर्मचारीहरु बढि मात्रामा पक्राउ पर्ने गरेको अख्तियारले जनाएको छ । उपसचिव, सहसचिव र सचिवस्तरका कर्मचारीहरु रंगेहातमा खासै पक्राउ पर्ने गरेका छैनन् ।
यो नेपाल समाचारपत्र दैनिकमा आज प्रकासित समाचार हो ।