काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
तेत्तीसौं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया गर्ने प्रक्रिया बिस्तारै विकास हुँदै गएको छ,’ सभामुख घिमिरेले भने, ‘कमाउन सक्दा प्यारो, खट्न नसक्दा परिवारबाट नै अपहेलित हुने केही अवस्था भए पनि राजनीतिक परिवर्तन हुँदै जाँदा सम्मान र सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको छ ।’
कोष स्थापना हुने बित्तिकै ज्येष्ठ नागरिकका लागि महत्त्वपूर्ण काम गर्दै आएको र शताब्दी व्यक्तित्वलाई सम्मान गर्ने काम प्रभावकारी भएको उनले बताए ।
कार्यक्रममा सभामुख घिमिरेले शताब्दी व्यक्तित्व मानव अधिकारवादी डा. गौरीशंकर लाल दास, टंकबहादुर थापा, दोस्रो विश्व युद्ध लडेका चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई सम्मान गरेका थिए ।
पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले सहज बुढ्यौली जीवनमा विगतमा भए/गरेका कुराको स्मरण गराउने र मर्यादित जीवनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
सांसद कर्ण थापाले ज्येष्ठ नागरिकलाई कानूनी, आर्थिक, सामाजिक रूपले संरक्षण गरी प्रत्येक ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभव लिनुपर्ने बताए ।
शताब्दी पुरुष गौरीशंकर लाल दासले संविधानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिने भनिए पनि कानून प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले पाउने सुविधा पाउन नसकेको अनुभव सुनाए ।