अछाम । ७२ वर्षका वृद्धले जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका छन् ।
मेल्लेख गाउँपालिका–७ का ७२ वर्षीय डम्बर साउँदले आज बुधबार जिल्ला प्रशासन कार्यालय अछामबाट नागरिकता लिएका हुन् । साउँदलाई प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरेका थिए ।
रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा बस्दै आएका साउँदले हालसम्म नागरिकता लिएका थिएनन् । बुढेसकालमा भए पनि नेपाली नागरिक हुन पाएकोमा उनले खुशी व्यक्त गरे ।
लामो समयदेखि नागरिकता नबनाएको कारण उनका छोराछोरीले समेत नेपाली नागरिकता पाएका छैनन् । उनले भने, ‘ढिलै भए पनि नागरिकता पाएको छु, अब छोराछोरीले पनि नेपाली नागरिक बन्न पाउने भए ।’
अछाम जिल्लाका धेरैजसो नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । आवश्यक कागजात समेत नबोकी वृद्ध अवस्थामा नागरिकता बनाउन आउनेको संख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
पछिल्लो समययता कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले आधा घण्टामै सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीड समेत कम भई सेवाग्राहीलाई सहज हुन थालेको छ ।
अछाम प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले आवश्यक कागजात भएमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताए । ३० मिनेटमै सेवा पाउन थालेपछि अछामका ग्रामीण भेगबाट आउने सेवाग्राही निकै सहज भएको छ ।