मान्म । कालिकोटमा तीन हजार पाँच सय बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।
लम्पी स्किन रोगको सङ्क्रमणबाट कालिकोटमा अहिलेसम्म तीन सय १४ पशु चौपायाको मृत्यु भएको जिल्लास्थित पशु अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ ।
पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको कार्यालयका प्रमुख लक्ष्मीप्रसाद अधिकारीले बताए । उनका अनुसार रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको छ । 'केही किसानले निजीस्तरबाट भ्याक्सिन लगाउनु भए पनि जिल्लामा हामीले किनेर ल्याएको भ्याक्सिन दिइरहेको छौँ', प्रमुख अधिकारीले भने ।
उनका अनुसार रोगको सङ्क्रमण जिल्लाभर भयावह रुपमा फैलिए पनि भ्याक्सिनको कमी भएकाले सबै किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । भ्याक्सिनको अभावका कारण रोग नियन्त्रण गर्न गाह्रो भइसकेको उनको भनाइ छ । ‘लम्पी स्किन’को सङ्क्रमण रोक्नका लागि जनचेतना फैलाउने तथा घाउ, खटिरा आएका पशुलाई ड्रेसिङ गर्ने काम भइरहेको प्रमुख अधिकारीले बताए । 'भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार हुन सकेको छैन', उनले भने, 'सबैभन्दा बढी रोगको सङ्क्रमण शान्नि त्रिवेणी गाउँपालिकामा देखिएको छ ।'
पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको प्रमुख अधिकारीले जानकारी दिए । 'यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ', उनले भने, 'सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण गर्न सकिन्छ ।'