काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएकोे छ ।
सचिव विनोद प्रकाश सिंह विदेश गएको मौका छोपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका तीनसहित चार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो । सचिव सिंह विदेश गएको समयमा मन्त्री अनिता देवी साहले निमित्त सचिव कमल प्रसाद भट्टराईबाट मंगलबार प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराएकी हुन् ।
यो सरुवासँगै सहसचिव भट्टराई फेरि अर्को विवादमा मुछिएका छन् । सचिवले हस्ताक्षर गर्न नमानेको सरुवाको सूचीमा निमित्त सचिवको हैसियतले हस्ताक्षर गरेसँगै भट्टराई विवादमा तानिएका हुन । सहसचिव भट्टराईले मन्त्री अनितादेवीसँग मिलेर दशैंको मुखमा बदमासी गरेका हुन ।
सचिव सिंहले सरुवा गर्न नमानेका तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको स्रोतले बताएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्दै त्यहाँका उपसचिव सागर मिश्रलाई पठाइएको छ ।
महालक्ष्मीका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रदीप पौडेललाई पठाइएको छ ।
यसैगरी गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा उद्योगका अच्युतराज रेग्मीलाई पठाएको स्रोतले बतायो ।
मन्त्रालयले उपत्यका बाहिर कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेको पनि सरुवा गरेको छ । उनलाई महिला आयोगमा पठाएको छ भने त्यहाँ रिक्त राखिएको छ ।
अहिले सरुवा गरिएका उपत्यकाका तीन प्रमुख प्रशासकीय अधिकृत मध्ये महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत ६ महिनामै सरुवा गरिएको छ भने कागेश्वरी मनहरा एक वर्ष पुगेको छ ।