काठमाडौं । चाडबाडलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ ।
चाडपर्व मनाउन उपत्यका बाहिर जाने यात्रुहरुको सुरक्षा, सहज आवातजावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटना रहित बनाउने उद्धेश्यले उपत्यकाका विभिन्न स्थान तथा नाकाहरुमा मापसे, लापसे लगायतका अन्य विशेष चेकिङ ट्राफिक प्रहरीले गर्दै आएको हो ।
चाडपर्वको मौका छोपि सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपुर्याढई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको अनुगमनको लागि सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । त्यस्तै, काठमाडौँ उपत्यकाको १६ स्थानमा राखिएका यात्रु सहायता कक्ष मार्फत यात्रुलाई परेका विभिन्न समस्याको समाधान समेत गरिँदै आएको पनि प्रवक्ता भट्टले जानकारी दिए ।
विशेष चेकिङकै क्रममा काठमाडौँको नागढुंगा नाकाबाट बिहीबार लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा र यात्राको क्रममा कुनै समस्या परेमा यात्रुले तत्काल नजिकैको यात्रु सहायता कक्ष, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न समेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।