काठमाडौं । सीमा सुरक्षामा गम्भीर हुन सीमाक्षेत्रका वडाध्यक्षले आग्रह गरेका छन् । चाडपर्वको समयमा नेपाल–भारत खुला सिमानाले अवैध क्रियाकलाप हुने भएको सीमा सुरक्षामा गम्भीर हुन सशस्त्र प्रहरीलाई सीमाक्षेत्रका जनप्रतिनिधिहरूले आग्रह गरेका हुन् ।
सीमा क्षेत्रमा कडा निगरानी, सुरक्षा गस्ती र तार वार नगरे यस्ता समस्या बढ्दै जाने उनको भनाइ छ । वडाध्यक्षहरूले समय छँदै सीमाक्षेत्रको स्थायी समाधान गर्न आग्रह गरेका हुन् । सशस्त्र प्रहरीको बर्दिबासस्थित नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ विषयक सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सीमा क्षेत्रका घटनाक्रम प्रस्तुत गर्दै वडाध्यक्षहरूले यस्तो आग्रह गरेका हुन् ।
मधेस प्रदेशको नेपाल भारत अन्तर्राष्ट्रिय सीमासँग जुटेको ८ जिल्लाका १४३ वडाका वडाध्यक्षहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । त्यस क्रममा दशगजा अतिक्रमण, सीमास्तम्भ हेरफेर, लागु औषध ओसारपसार, आपराधिक चलखेल, नेपाली क्षेत्रमा पूर्वाधारको कमी र भारतीय सशस्त्र सीमा बल (एसएसवी) ले गरेका ज्यादती बारे वडाध्यक्षहरूले जानकारी गराएका थिए ।
भारतसँग ५ किमी सीमा जुटेको बारा जिल्ला देउताल ३ का वडाध्यक्ष रामकिशोर प्रसाद कुशवहाले आफ्नो वडाको दशगजा क्षेत्रमा यसअघिका ६३ वटा सीमास्तम्भ (पिलर) मध्ये २० वटा हराएको बताए । दशगजामा भारतीय सुरक्षाकर्मीले एकलौटी रुपमा थुप्रै पिलर हेरफेर गरे पनि नेपाली पक्षले कुनै वास्ता नगरको अन्य वडाका वडाध्यक्षहरूको पनि गुनासो थियो ।
एसएसवीको यस्तो गतिविधि नेपाल भारतबिच भएको सहमति र समझौता विपरीत रहेको वडाध्यक्षहरूको भनाइ छ । वडाध्यक्षहरुका अनुसार ‘सीमा क्षेत्रलाई यथास्थितिमै रहन देऊ’ भनी उच्च तह (हाई लेबल) मा हस्ताक्षर नै भएको छ । यी हस्ताक्षर सन १८१६ को सुगौली सन्धिपछिका पूरक सम्धिमा भएको हो ।
‘दशगजा क्षेत्रमा एसएसवीले गरेका गतिविधि पूरक सन्धिको विरुद्ध हो’ सहभागि वडाध्यक्षहरूले भन्नु भयो ‘पूरक सन्धिअनुसार भए रहेका दशगजा क्षेत्र र सीमास्तम्भलाई आफूखुसी गर्न पाइँदैन । अतिक्रमित क्षेत्रमा सीमा विवाद समाधान भएपछि मात्र हटाउने भन्ने हो । तर उनीहरूले (भारतीय पक्ष) आफू खुसी सीमा मिच्न छाडेका छैनन् । यसलाई कसरी नियन्त्रण गर्ने रु’
पर्सा गाउँपालिका २ सर्लाहीका वडाध्यक्ष राकेश रामले एसएसवीले नेपालीमाथि थिचोमिचो गर्दै आए पनि त्यसको रोकथाम र नेपालीलाई सुरक्षा प्रत्याभूति दिन कसैले चासो नलिएको गुनासो पोखे ।
सीमा समस्यापछि वडाध्यक्षहरूले खुला सिमानाका कारण हुने लागु औषध कारोबार र दुर्व्यसन समस्यालाई प्रमुखतासाथ उठाएका थिए ।