काठमाडौं । चाडपर्व मनाउनका लागी यदि तपाई विद्युतीय गाडीबाट घर जाँदै हुनुहुन्छ भने तपाईलाई चार्जिङ स्टेसनको समस्या नहुने भएको छ ।
चार्जिङ स्टेसनका मामिलामा नेपाल विद्युत प्राधिकरणले महत्त्वपूर्ण ‘माइलस्टोन’ तयार पारिसकेको छ। यस सरकारी निकायले ५१ वटा चार्जिङ स्टेसन संचालनमा ल्याइसकेको छ। चाडपर्वमा घर जानेका लागि प्राधिकरणका चार्जिङ स्टेसन भरपर्दो आधार बनेको छ। प्राधिकरणको चार्जिङ स्टेसनमा सबै ब्रान्डका गाडीमा ब्याट्री रिचार्ज गर्न सकिन्छ।
निजी कम्पनीहरुले चाहिँ आफ्नो ब्रान्डको गाडीमात्र चार्ज गर्न मिल्नेगरी चार्जिङ स्टेसन तयार पारेका छन्।
कहाँ कहाँ छन् इभी चार्जिङ स्टेशन?
सिप्रद्धीले हाल काठमाडौं सहित पोखरा, इटहरी, भैरहवा, नरायणघाट, धार्के, मुल्कोट, हेटौडा, चुम्लिङटार र ढल्केवरमा यस्तो स्टेशन संचालनमा ल्याइसेको छ। यी सबै चार्जिङ स्टेशनबाट इभी प्रयोगकर्ताले गाडीमा फास्ट चार्जर प्रयोग गर्न सक्छन्।
कम्पनीले दुई वर्षको अवधिमा २१ वटा फास्ट चार्जरसहितको चार्जिङ स्टेसन स्थापना गरिसकेको छ। यस्तै, मल र रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानमा लगभग ३०० वटाभन्दा बढी एसी चार्जर जडान गरिसकेको सिप्रदीले जनाएको छ। इभीका ग्राहकले राजमार्ग र मुख्य सहरमा यसबाट सुविधा लिन सक्छन्। कम्पनीले बुटवल-पोखराबीच वालिङ, नारायणगढ, लमही, कोहलपुर, अत्तरिया र पूर्वतर्फ लहानमा चार्जिङ स्टेशन विस्तार गरिरहेको छ। यसैगरी, कम्पनीले ८ ठाउँमा एसी चार्जर पनि निर्माण गरिरहेको छ।
कतिपय कम्पनीहरुले आफ्नै लगानीमा विभिन्न बजार तथा लामो दुरीका लागि भनेर होटेलहरुमा चार्जिङ स्टेसन तयार पारेका छन्। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो गाडीको लागि भनेर नेपालभरी ८ वटा फास्ट चार्जिङ नेटवर्क संचालनमा ल्याएको छ।
कम्पनीले बुटवल, चितवन, कुरिनटार, ढल्केबर, मुलकोट, ओलिज् स्टोर इटहरी र ओलिज् स्टोर बिर्तामोडमा चार्जिङ स्टेसन राखेको छ। अन्य ९ वटा स्थानहरुमा पनि फास्ट चार्जिङको नेटवर्क विस्तार भइरहेको कम्पनीले जनाएको छ जसमा बर्दिबास, कोहलपुर, वीरगंज, लमही, पोखरा, हेटौंडा, अतारिया, नौबिसे र गाईघाट रहेका छन्।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालको विभिन्न ४० ठाउँमा आफ्नो चार्जिङ स्टेसन राखेको छ। उपत्यकाको लबिम मल र होटल मेरियटमा, सिनामंगल, धापासी, कुपन्डोल, थापाथली, नक्साल, तीनकुने, गरी ८ स्थानमा चार्जिङ सेन्टर संचालमा ल्याएको छ। त्यस्तै, उपत्यका बाहिर पोखराको बाराही सर्भिस, वाटरफ्रन्ट रिसोर्ट, होटल बाराही र होन्डाई शोरुम पोखराका ४ स्थानमा चार्जिङ स्टेसन संचालनमा ल्याइसकेको छ।
काठमाडौं र पोखरामा गरी कम्पनीले १२ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ। त्यसैगरी बिर्तामोड(इटहरी, इटहरी(विराटनगर, इटहरी-जनकपुर, जनकपुर-वीरगंज, वीरगंज-नारायणघाट, नारायणघाट-बुटवल, बुटवल-भैरहवा, बुटवल-दाङ, दाङ-नेपालगञ्ज, नेपालगञ्ज-धनगढीसम्म प्रत्येक दुई सय किलोमिटरमा विद्युतीय चार्जिङ स्टेसन बनाएको छ।
कोरियाली कम्पनी कियाको पनि सात वटा ठाउँमा चार्जिङ स्टेसन छ। कम्पनीले उपत्यकामा ३ सहित बाहिर ४ स्टेसन निर्माण गरेको हो। उपत्यका बाहिर चुम्लिङटार, भरतपुर र पोखरामा एसी चार्जर राखेको छ भने कुरिनटारमा डिसी चार्जर राखेको छ।
यस्तै टेस्लाको आधिकारिक बिक्रेता अरिती इन्टरनेसनलले विभिन्न ५ ठाउँमा चार्जिङ स्टेसन बनाएको छ। उसले काठमाडौंमा टंगालस्थित आफ्नो सर्भिस सेन्टर र सांग्रिला होटलमा तथा काठमाडौं बाहिर कुरिनटार, भरतपुर र पोखरामा चार्जिङ स्टेसन संचालन गरिरहेको छ। कुरिनटारमा सिद्धार्थ होटल, भरतपुरमा गार्डेन रिसोर्ट र पोखरामा सिद्धार्थ होटलमा आफूले चार्जिङ स्टेसन बनाएको अरती इन्टरनेसनलले जनाएको छ। उसले नगरकोट, हेटौंडा र लुम्बनीमा पनि चार्जिङ स्टेसन बनाउँदैछ।
यसैगरी, यस्तै बीवाईडीको नेपालमा अहिले ३ वटा मात्र फास्ट चार्जिङ संचालनमा छ। जसमा अनामनगर, गौरीघाट र कोहलपुरमा रहेको छ। अन्य थप फास्ट चार्जरहरु कम्पनीले राख्ने योजना बनाएको छ।
साइमेक्सले अहिले उपत्यकाभित्र भाटभटेनी, नक्साल, रत्नपार्क, सिंहदरबार, गैह्रीधारा, बालुवाटार, थापाथली, तीनकुने, पुल्चोक ९पाटन०, भक्तपुर लगायतका स्थानमा एसी चार्जिङ स्टेसन राखेको छ।
साइमेक्स निकट भविष्यमै कुरिनटार-मुग्लिन, लहान, नेपालगंज, धनगढी, लमही, सुर्खेत, वीरगंज, धरान, विराटनगर लगायतका स्थानमा पनि छिटै चार्जिङ स्टेसन संचालनमा ल्याउने योजनामा छ। कम्पनीले अहिले नेपालमा यसको ई-६, एटो ३ र डल्फिन बिक्री गरिरहेको छ। कम्पनीले भविष्यमा अन्य मोडलहरु पनि थप्ने योजना बनाएको छ। त्यसैले कम्पनी चार्जिङ स्टेसन निर्माण गर्न अग्रसर देखिन्छ।
प्राधिकरणको ५१ स्थानमा चार्जिङ स्टेसन संचालन
नेपाल विद्युत प्राधिकरणको ५१ चार्जिङ स्टेसन निर्माण सम्पन्न गरेर संचालनमा ल्याएको छ। प्राधिकरणले सातै प्रदेशका प्रमुख राजमार्ग र नजिकका बसपार्क क्षेत्रमा चार्जिङ स्टेशन निर्माण सम्पन्न गरेको छ। बागमती प्रदेशमा मात्र २० स्थानमा चार्जिङ स्टेशन निर्माण भएर संचालनमा आएको छ।
काठमाडौं उपत्यकाभित्र सात स्थानमा चार्जिङ स्टेशन संचालनमा छन्। मुग्लिन-कुरिनटारमा चार, मलेखु, सिन्धुली, हेटौंडा र भरतपुरमा दुईरदुई वटा र बनेपामा एउटा चार्जिङ स्टेसन संचालनमा रहेका प्राधिकरणले जनाएको छ। प्रदेश १ को दमक, भद्रपुर, कन्काई, विराटनगर र इटहरी गरी ५ स्थानमा चार्जिङ स्टेसन संचालनमा आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
मधेश प्रदेशको वीरगंज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराज गरी सात स्थानमा प्राधिकरणको चार्जिङ स्टेसन संचालनमा छन्। गण्डकी प्रदेश अन्तर्गत पोखरामा तीन वटा रहनेगरी नवलपुर, दमौली र स्याङ्जामा एकरएक वटा गरी ६ वटा चार्जिङ स्टेशन निर्माण सम्पन्न भएर संचालनामा ल्याइएको छ।
लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न भएका छन्। बुटवलमा तीनवटा, बर्दघाट र सुनवलमा दुईदुईवटा चार्जिङ स्टेसन छन्। नेपालगञ्ज, भालुवाङ र दाङमा एकएक स्टेसन अहिले संचालनमा आएका छन्।
कर्णाली प्रदेशमा भने सुर्खेतमा एउटा मात्रै चार्जिङ स्टेसन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन संचालनमा आएको छ। महेन्द्रनगर, धनगढी र डडेलधुरामा एकएकवटा चार्जिङ स्टेसन संचालनमा ल्याइएको छ।
यस्तै सिंहदरबारभित्र ३० किलोवाट क्षमताका ५ वटा चार्जिङ स्टेसन संचालनमा आइसकेको छ। ऊर्जा र अर्थ मन्त्रालयमा २र२ वटा तथा परराष्ट्र मन्त्रालयमा एउटा संचालनमा ल्याइएको हो।
यसैगरी नेपाल विद्युत प्राधिकरण र नेपाल प्रहरी मिलेर प्रहरी कल्याण कोषद्वारा हाल संचालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिरहेका छन्। चार्जिङ स्टेसन दीर्घकालीन रुपमा प्रहरी कल्याण कोष मातहत संचालन हुने प्राधिकरणले जनाएको छ ।