काठमाडौं । बडादशैं अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आईतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।
शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे ।
दशैंका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेल आईतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए ।
बडादशैंको आठौं दिन आईतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरूप दर्शनार्थीको घुइँचो लागेको थियो ।
राजधानी बाहिरका महत्त्वपूर्ण शक्तिपीठमा पनि आईतबार भगवतीको पूजाअर्चना गरिएको छ ।