काठमाडौं । बडादशैँको अन्तिम समयमा सुपारी, केराउ र मरिचको आयात गुपचुपमा खुलाएको छ ।
श्रीराम गुट्खा उद्योगमा कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठीको सहयोग र संलग्नतामा सरकारले चालु आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको उद्योग मन्त्रालयले जनाएको छ ।
केही दिनअघि गुपचुप रुपमै सुपारी आयात खुला गर्ने निर्णय गरेको थियो । त्यो सूचनालाई राजपत्रमा प्रकाशित भने गरेको थिएन । तर गत शुक्रबार दशैँ बिदाको छेको पारेर राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम शुक्रबार राजपत्रमा प्रकाशन गरिएको हो । दुई वर्षअघि औद्योगिक प्रयोजनमा के कसरी आयात दिने भन्ने कार्यविधि बनाइएको थियो । त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारको दाबी छ ।
शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना पठाउँदै आयात खुलाएको स्रोतले जनाएको छ । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम यी वस्तुलाई प्रतिबन्ध लगाइएको थियो ।
सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकामा सोही दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको राजपत्रमा उल्लेख छ ।
यस व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०÷८१ का लागि औद्योगिक प्रयोजनका लागिमात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिच सेतो कालो दुवै पैठारी गर्न अनुमति दिने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको राजपत्रमा भनिएको छ ।