काठमाडौं । मोरङ र झापामा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थालहरू यति बेला परम्परागत जातीय नृत्य दासाईमा रमाई रहेका छन् । प्रकृति पूजक सन्थालहरू आदिकलादेखि नै दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् । विजयादशमी देखि पूर्णिमा सम्म उनीहरू आफ्नो गाउँ टोलमा दासाई नृत्य नाचेर दसैँ मनाउने गर्छन् ।
दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाहरूको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ । दसैँ मेलामा सन्थाल नाच छैन भने दसैँको मज्जा लिन सकिन्न, स्थानीय विजय धिमालले भन्नुभयो । दासाई मेलामा गैर सन्थालको पनि उत्तिकै सहभागिता हुने गरेकोले स्थानीय बिच जातीय सद्भाव बढ्दै गएको छन् – स्थानीय तेजन खड्का ।
उर्लाबारी ८ का गोरे हेमरन भन्छन् – दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाई राखेको छ । उनी भन्छन् –‘ हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्न बल्ल सरकारी निकायले सानो तिनो सहयोग गर्न थालेको छ । आफ्नै, भाषा, चाडपर्व, धर्म, संस्कृति र पोसाक भएका सन्थालहरू धार्मिक एवम् सांस्कृतिक आक्रमणमा परिरहेका छन् । गोरे हेमरनले भन्नुभयो–गरिब भएकै कारण सन्थालहरू धर्म परिवर्तनको मारमा परेका छन् । सन्थालहरू दासाईको बेला मात्र होइन , सोराय र अरू पर्व मनाउँदा पनि एउटै भेसभुसामा सजिएर नृत्य प्रस्तुत गर्ने गर्छन् ।
सन्थालहरू अति विपन्न छन् । सधैँ अर्काको घर खेती गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेका सन्थालहरू आदिमकालमा जङ्गली जनावरको सिकार गर्ने र खेती पेसामा संलग्न थिए ।
राईको जमिनलाई खेतीयोग्य बनाउन र बस्ती बसाउन सन्थालहरूको महत्त्वपूर्ण योगदान रहेको छ । सोरेनका अनुसार सन्थालहरू २०३० को दशकसम्म जमिन्दार थिए । तर ,पहाडबाट बसाई सराई भएर आएका पहाडे समुदायलाई जग्गा बेच्दा बेच्दै हाम्रो समुदाय अहिले सुकुम्वासी बनिरहेको छ । शिक्षा र चेतनाको अभावमा पहिलेका जमिनदारहरू पनि अहिले सुकुम्वासी बनिसकेको वैद्यनाथले बताए ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरनमा प्रस्तुत हुने गर्छ । यो नृत्यमा नाच्नेहरू रङ्गीचङ्गी कमिज, धोती,शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा खाल खालका कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा नाँच्ने गर्छन् । यस नृत्यमा नाँच्नेहरू सबै पुरुष सन्थालहरू हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिलाहरू पनि उत्तिकै सक्रिय हुन्छन् । नृत्य मध्य अवस्थामा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाची रहेका सन्थालहरू आफूलाई बहादुर साबित गर्न बिना हात जमिनमाथि उडेका भुजा मुखमा हाल्ने प्रयास गर्छन् ।
नृत्यका क्रममा उनीहरू कालीको शक्ति आफूमा चढेको देखाउन कोर्रा, लट्ठीको सहजरूपीमा सामना गर्ने गर्छन् । मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौँ कोर्रा सहेर नृत्यमा आकर्षण थप्ने गर्छन् । त्यति बेला नाच्नेहरूमा कालीको शक्ति चढेको हुनाले कोर्राको प्रहारबाट केही नहुने जेठा सन्थालको भनाई छ ।
नेपालको पूर्वी तराईमा बसोबास गर्ने धिमाल, राजवंशी , ताज पुरिया जस्तै सन्थालहरू पुरानो जाति हो । तर सरकारले सन्थालको शिक्षा र मानवीय विकासमा ध्यान नपुर्याउँदा उनीहरू आर्थिक रूपमा दिनानुदिन सङ्कटमा परिरहेका छन् । सन्थाल समाज उर्लाबारीका अध्यक्ष मुसुई हेमरमले भने – हाम्रा बालबालिकाले आफ्नो भाषा बिर्सिसकेँ । चाडपर्वको बारेमा ज्ञान छैन । धनुष वाण लिएर जङ्गलमा सिकार खेल्न जान सरकारले रोक लगाएको छ । अझ सामुदायिक वनको अवधारणा आएपछि जङ्गल छिर्नै पाइदैन् ।
खास गरी सन्थाल जाति जङ्गलमा धनुषवाँण लिएर सिकार गर्ने, गिट्ठा भ्याकुर खोजेर खाने , पशुपालन गर्ने र थोरै मात्र कृषि कर्म गर्ने छन् । तर, पछिल्लो समय आफ्ना परम्परागत रीतिरिवाज सबै लोप हुँदै गएकोमा उनीहरू चिन्तित छन् । उर्लाबारीका गाउँ प्रमुख (माझी हडाम) शिवराज किस्कुले आफ्नो हजुरबाले सुनाएको कुरा सम्झँदै भन्नुभयो – ११÷ १२ पुस्ता देखि हामीहरू यही बसेका छौँ । तराईको झाडी फाँडेर बसेका थियौँ अरे । तर, अहिले उर्लाबारीका २ सय २५ परिवार मध्ये १२५ परिवारको जग्गा जमिन छैन । शिक्षा र सुझबुझको अभावमा पहाडबाट झर्ने अन्य समुदायलाई जग्गा बेच्दा बेच्दै उनीहरू सुकुम्वासी बनिसकेका छन् ।
कतिपय खोला किनारमा बस्छन् भने कतिपय आफ्नै बाबु, बराजुले बिक्री गरेको जग्गा अधियाँ ठेक्का गरेर दुखले बसिरहेका छन् ।