काठमाडौं । भारतीय क्रिकेटका नायक तथा महान स्पिन बलर विशनसिंह बेदीको ७७ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय खेलमन्त्री अनुराग ठाकुरले सोमबार बेदीको निधनले क्रिकेट खेलमा ‘अत्यन्त ठूलो क्षति’ भएको बताए ।
‘भारतीय क्रिकेट टीमका पूर्व कप्तान, बलर विशनसिंह बेदी रहनुभएन, जसलाई भारतले सधैं सम्झिनेछ,’ भारतीय किक्रेट कन्ट्रोल बोर्ड भारत (बीसीसीआई) का पूर्व अध्यक्ष ठाकुरले पत्रकारहरूसँग भने, ‘यो अत्यन्त दुःखद खबर हो र क्रिकेटका लागि अत्यन्त ठूलो क्षति हो, यो दुःखद घडीमा सम्पूर्ण क्रिकेट जगत् उहाँको परिवारको साथमा छ ।’
इरापल्ली प्रसन्ना, श्रीनिवास वेंकटराघवन र भागवत चन्द्रशेखर सहितको प्रसिद्ध ४ स्पिन बलरमा समावेश विशनले सन् १९६७ देखि सन् १९७९ को बीच आफ्नो सानदार अन्तर्राष्ट्रिय करियरमा ६७ टेस्ट म्याचमा २६६ विकेट लिएका थिए ।
बायाँ हाते स्पिन बलर बेदीले सन् १९७४ देखि सन् १०७९ सम्म १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए । बेदी प्रायः साथीहरू, क्रिकेट खेलाडी र खेलका कमजोर प्रशासकहरूको आलोचनामा स्पष्टवादी थिए ।
ठूलो पगरी र हँसिलो अनुहारका साथ उनी दिल्लीमा क्रिकेट कार्यक्रमहरूमा नियमित सरिक हुन्थे तर पछिल्ला केही वर्षमा उनको खराब स्वास्थ्यका कारण सक्रिय सामाजिक जीवनबाट टाढा राखिएको थियो ।