काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रूपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । “उमङ्गमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैँको विशेष सांस्कृतिक महत्त्व रहिआएको छ, दसैँलाई सांस्कृतिक महत्त्वको चाडको रूपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपिल गर्दछु”, सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्दै उनले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रूपमा रहेका बताएका छन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ ।
चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले वडादसैँले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।