तनहुँ । विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुशी भएका छन् ।
विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुशी व्यक्त गरेका हुन् ।
‘दशैंका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,’ तनहुँ कारागारमा जेल सजाय भोगिरहेका एक कैदीबन्दीले खुशी हुँदै भने, ‘कारागारमै हुँदा पनि दशैंको टीका लगाउन पाएँ खुशी लागेको छ ।’
कारागारमै रहेका अर्का एक कैदीले पनि दशैं टीका लगाउन पाएकामा खुशी व्यक्त गरे । उनले भने, ‘कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दशैं मनाए जस्तो भयो । कारागार भित्रको माहोल पनि दशैंमय बनेको छ ।’
कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दशैंमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । १ जनाका कैदीबन्दीका तर्फबाट १० जनासम्म आफन्त आएका थिए ।
अधिकारीले भने, ‘समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरूमा खुशीयाली छाएको छ ।’
कैदीबन्दीले दशैं मनाउनका लागि आवश्यक पर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरा लगायत खरिद गरिएको छ ।
सरकारले दशैं खर्चबापत प्रत्येक कैदीबन्दीलाई ३०० रुपैयाँका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा २८२ कैदीबन्दी छन् । दशैंका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दशैं खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा ३५० देखि १ हजारसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए ।
उनका अनुसार दशैंमा ५ लाख बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ ।
यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए ।