मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् ।
हिन्दूहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिबारे बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।
सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुवा ८६ वर्षीय मनु गिरी र उनकी पत्नी वर्षा पुरी (गिरी) ले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिए ।
उनीहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरी सहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दंग देखिन्थे ।
नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यसपटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुशी देखिन्थे । ‘मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली,’ उनले भने ।
अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिन्थिन् । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताइन् । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु,’ विदेशी पर्यटक माइकाले भनिन् ।
चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरूको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । ‘हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौं,’ उनले भने, ‘हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुंगा सावित हुनेछ ।’
नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो ३ दिनयताको आँकडा अनुसार तेस्रो मुलुकका पर्यटकको संख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैंडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहार लगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चंगा चेटमा उनीहरू रमाउने गरेका छन् ।