हेटौंडा । आर्थिक अभाव भएको भन्दै हेटौंडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब र भत्ता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो ।
प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिस्ट्रार राजेश प्रसाईँले बताए ।
प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको सात करोड १९ लाख बजेट कम अर्थात् १२ करोड ३२ लाख बजेट विनियोजन गरेको छ । कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आयुर्वेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याब टेकनिसियनलगायत प्राविधिक कर्मचारी गरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन् ।
साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचारी पनि कटौती गरिने भएको छ । रासस



























