कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठ्यारो परेको छ ।
८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ जना स्थायी दरबन्दी र १ जना राहत कोटामा कार्यरत शिक्षक छन् । अन्य ६ जना शिक्षक निजी स्रोतबाट तलब व्यहोर्ने गरी राखिएको छ ।
अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन ।
नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालू शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् । शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दशैं खर्चका लागि दिएका छन् ।
‘विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन,’ विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले भनिन्, ‘कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।’
विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन् । विद्यालयमा १६२ विद्यार्थी रहेका छन् ।
विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायका रहेका विद्यालयका शिक्षक कर्णबहादुर कुँवरले बताए । ‘विगतका वर्षमा नगरपालिकाले ५ लाख अनुदान रकम उपलब्ध गराउँथ्यो,’ उनले भने, ‘यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले २ लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौं ।’
उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोशाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ ।
शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वःस्फूर्त रूपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ ।
विद्यालयको आन्तरिक आयस्रोत नहँुदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताइन् । ‘विषयगत शिक्षक मात्रै ७ जना चाहिन्छ,’ उनले भनिन्, ‘सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हँुदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले ७ वटा कक्षा अनिर्वाय रूपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ ।’
जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमन समेत नगरेको उनको गुनासोे छ । विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन । कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरूको भनाइ छ । विद्यालय विक्रम संवत् २०६५ सालमा स्थापना गरिएको हो ।