फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ विजयादशमीका दिन ९ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैंची बगानमै दशैं मनाएका छन् ।
घरबाट टाढा रहेको बगानमा अलैंची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैंची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैंची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवार नै बगानमा छ ।
दैनिक ८ देखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दशैं पनि यही बगानमा मनाए । फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैंची बगनमै दशैं मनाए । १ बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेर मात्र टिपाइ सुरु गर्ने चलन छ ।
उनले मंगलबार अलैंची बगानमा पूजापाठ गरे । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैंची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ ।
बगानमा अलैंची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दशैंमा घर फर्कन नपाएको हो । ‘टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,’ उनले भने, ‘खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।’
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दशैंका बेला पनि अलैंची बगनमै बस्नु परेको उनले बताए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दशैं मनाएको लिम्बूले सुनाए ।
सिरिजङ्गा–६ मामांखेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनी तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।
मेरिङदेन गाउँपालिका—५ नाल्बुका विमना लिम्बूले केही समयअगाडि आफ्नो परिवारका लागि मात्र खाना बनाउँथे तर अहिले अलैंची टिपाइ सुरु भएसँगै खेतालाका लागि बिहान खाजा बनाउन र खाना बनाउनमा उनी व्यस्त छन् । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूको अलैंची बगानमा धेरै टाढाबाट अलैंची टिप्ने मजदुर बोलाएका छन् ।
अलैंची टिप्ने खेतालाहरूलाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैंची टिप्ने जाने गर्छन् । बिहानको १० बजे खान खान समय हुन्छ । आँखा देखुञ्जेलसम्म बेलुका अलैंची बगानमै टिप्ने गर्दछन् । साँझबिहान बगानमै बसेर अलैंची टिप्ने मजदुरलाई ५०० देखि ६५० रुपैयाँ ज्याला दिनु पर्दछ ।
यी त भए केही प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका प्रायः किसान यति बेला अलैंची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यतिबेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।