बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

ढोरपाटन । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  ढोरपाटन नगरपालिका-५ पाखा पानीका चित्रबहादुर विकको घरमा शनिवार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । 

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले बताए । 

जिप दुर्घटनामा एक जनाको मृत्यु
जिल्लाको काठे खोला गाउँपालिका–३ धम्जाको राम चालुमा शनिवार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।