जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन् ।
आज बिहीबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले विभिन्न चरणमा भएको छलफलपछि हवाई सेवा सञ्चालनका लागि निजी क्षेत्र तयार रहेको भन्दै भारतीय पक्षसँग कुरा गरेर बाँकी प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई आग्रह गरे ।
‘विगत २–३ वर्षदेखि माता जानकीको जन्मस्थल जनकपुर र श्रीराम जन्मस्थल भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सकिने सम्भावनाबारे विभिन्न चरणमा कुराकानी भइरहेको थियो । मैले जानकारी पाएअनुसार निजी क्षेत्रको बुद्ध एअर सातामा ३ दिन हवाई उडान भर्न तयार रहेको छ,’ प्रतिनिधिसभा सदस्य समेत रहेका निधिले भने, ‘अब वायु सेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहलकदमी लिएर उडान अनुमति, पूर्वाधार निर्माण र भारत सरकारसँग आवश्यक सम्झौता गर्न जरुरी छ । यसका लागि म सम्बद्ध पक्षसँग विशेष अनुरोध गर्न चाहन्छु ।’
अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरको सन् २०२४ जनवरीमा भारतीय प्रधानमन्त्रीले प्राण प्रतिष्ठा (समुद्घाटन) गर्ने कार्यक्रम रहेको र तत्पश्चात् त्यहाँ बढ्ने धार्मिक पर्यटकीय गतिविधिबाट लाभ लिन हवाई सेवा जरुरी रहेको भन्दै नेता निधिले त्यसभन्दा अघि नै नेपाल सरकारले आवश्यक पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याए ।
यस कार्यले जनकपुरमात्र नभई सिंगो नेपालले नै आर्थिक लाभ लिनसक्ने र जसले देशको समृद्धि र गरीबी निवारणको यात्रामा कोसेढुंगाको काम गर्ने नेता निधिको भनाइ छ ।
उनले सीता जन्मभूमि जनकपुरधाम र सती माताको भूमि कैलास मानसरोवरलाई जोड्न नयाँ सम्भावनाको खोजी र त्यसको प्रचारप्रसार पनि जरुरी रहेको धारणा राखे । उनले नेपालकै भूमिबाट कैलाश मानसरोवर पुग्नसक्ने बाटो निर्माणका लागि पनि सरकारसँग माग गरे ।