काठमाडौं । सन् २०२४ को टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित टीयू मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनायो ।
सिंगापुरका रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । यस्तै, आर्यवीर चौधरीले ३७, मानप्रित सिंहले २४ तथा यक्ष पुरीले १३ रन जोडे । नेपालका करण केसीले तीन तथा सन्दीप लामिछाने, गुल्शन झा र अभिनाश बोहराले दुई-दुई विकेट लिए ।
आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा रहँदा सिंगापुर पनि जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिएको छ । नेपालले आयोजना गरेको टी-२० विश्वकपको एसिया छनोटका खेलहरू त्रिवि मैदानका साथै मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
समूह चरणमा नेपालले सबै खेल कीर्तिपुर मैदानमा खेल्नेछ । कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले दोस्रो खेल भोलि मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्न पाउने छन् ।