काठमाडौं । सुनसरीको विष्णुपुरमा जन्मिएकी हिराकुमारी यादव हाल चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर कार्यसम्पादन गर्दै आएकी छन् ।
यादवको परिवार सामान्य कृषि पेशामा संलग्न थियो । उनको बाल्यकाल सामान्य तरिकाले बित्यो । परिवारमा कृषिका अलावा उनका बुवा शिक्षण पेशामा पनि संलग्न थिए । बुवाको जागिर खोटाङमा भएकाले उनको बाल्यकाल केही समय पहाडका थुम्काहरूसँग चिनजान र लुकामारी गर्दै बित्यो । अबोध बाल्यकालका क्षणसँगै ४ कक्षासम्मको अध्ययन उनले खोटाङमै पुरा गरिन् ।
उनले ५ कक्षादेखि विष्णुपुरमा रहेको तुलसीराम सत्य भावना विद्यालयबाट विक्रम संवत् २०५६ सालमा माध्यमिक तहको अध्ययन पूरा गरिन् । त्यसपछि उनले सूर्यनारायण सत्यनारायण बहुमुखी क्याम्पसबाट गणित र नेपाली विषयमा आईए गरिन् । बीएड पनि सोही क्याम्पसबाट नेपाली विषयमा गरिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर समेत पूरा गरी हाल राजनीतिशास्त्र समेत अध्ययन गरिरहेकी छन् ।
उनको घरमा सबै जना शिक्षित भएर पनि होला, पढाइमा कहिल्यै बाधा भएन । तराईमा छोरा र छोरीमा भेदभाव भए पनि आफ्नो परिवार शिक्षित भएकाले कुनै भेदभाव नभएको उनी स्मरण गर्छिन् । उनी भन्छिन्, ‘भेदभाव घरबाटै सुरू हुने हो, त्यसकारण घरमा सबै जना शिक्षित हुँदा समाज पनि भेदभावरहित हुने रहेछ, मेरो परिवारले समाज बदल्नुपर्छ भन्ने सोच राख्ने भएकाले भेदभावको मानसिकता नै थिएन ।’ उनी संयुक्त परिवारमा बस्ने भएकाले पनि सानैदेखि असल मान्छे बन्नुपर्छ भन्ने कुरा सिकेको बताउँछिन् ।
साथीको प्रेरणाले निजामती सेवाको यात्रा
उनको परिवारको मुख्य पेशा भनेको शिक्षण र कृषि थियो । बुबा, काका, काकी शिक्षण पेशामा भएका कारणले पहिला आफू पनि सोही पेशा अँगाल्ने विचार रहेको बताउँछिन् । त्यसका लागि उनले शिक्षक सेवाको समेत तयारी गरेकी थिइन् । सोही समयमा उनको भेट बिर्सना चौधरीसँग भयो ।
हिरा भन्छिन्, ‘उनले आफू लोकसेवा पढ्दै गरेको सुनाइन्, त्यसपछि मलाई पनि पढ्ने प्रस्ताव गरेपछि उनको संगतमा लोकसेवा अध्ययन गरेको हो । साथीलाई साथ दिन मात्र अध्ययन गरेको थिएँ ।’
साथीलाई साथ दिने क्रममा निजामती सेवामा प्रवेश गरेको उनी बताउँछिन् । उनले २०६७ चैतमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेकी हुन् । उनी पहिलो प्रयासमा निजामती सेवामा नाम निकाल्न सफल भइन् । उनको पहिलो दरबन्दी गाविस सचिवको रूपमा इलाममा भएको थियो ।
निजामती सेवामा प्रवेश गरेको १ वर्ष पूरा नहुँदै शाखा अधिकृत
उनले २०६७ सालबाट निजामती सेवाको यात्रा गरिरहँदा २०६८ भदौमा नै शाखा अधिकृतमा नाम निकाल्न सफल भएकी हुन् । उनले शाखा अधिकृतको रूपमा सामान्य प्रशासन मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना आयोगमा समेत काम गरेको अनुभव रहेको छ । हाल उनी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेकी छन् । यसअघि उनले झापाको कचनकवल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेकी छन् ।
लोकसेवाको परीक्षामा खुला, महिला, मधेशी ३ नै वटा कोटाबाट उनले नाम निकालेकी थिइन् । प्राविधिक कारण भएर उनले ३ वटै कोटाबाट अन्र्तवार्ता दिए पनि उनको नाम महिला कोटाबाट सिफारिस भएको थियो ।
कार्यसम्पादनमा महिलालाई कति सहज ?
हाम्रो देशमा महिला सशक्तीकरणका धेरै नारा नारामै सीमित बनेका छन् । गणतन्त्र आयो, समावेशिता आयो । धेरै कुराहरू कानूनमा उल्लेख पनि भए तर व्यवहारमा लागू हुन सकेको छैन । जति पुरुषलाई हकअधिकार दिएको छ, त्यति महिलाले पाएका छैनन् । महिला भएकै कारणले क्षमतामा कमी देखाउने परिपाटी अझै जीवित छ । महिलाले पनि कार्यालय प्रमुख भएर चलाउन सक्छ र भन्ने प्रश्न समाजले अझै प्रत्यक्ष, अप्रत्यक्ष रूपमा उठाइरहेको पाइन्छ । महिलालाई कार्यसम्पादन गर्न कति ठाउँमा सहज रहेको छ भने कति ठाउँमा असहज पनि उत्तिकै रहेको छ ।
सरकारको तलब सुविधाले जीवनयापनमा सहजता कि चुनौती ?
निजामती सेवामा लाग्दा विशुद्ध राज्य र जनताको सेवा गर्ने भावना हुन जरुरी छ । जसले पैसा कमाउने सोचले आएको हुन्छ, उसले भ्रष्टाचार गरेर देश र जनतामाथि धोका दिन्छ । सरकारले दिएको तलब सुविधाले सामान्य जीवनयापन गर्न त्यति कठिन हुँदैन । आम जनताका काम गर्नका लागि यो पेशा जस्तो उत्कृष्ट अरू हुन सक्दैन । निजामती कर्मचारीले जनतालाई सम्झेर काम गर्नुपर्छ । पैसा कमाउने भए त व्यापार व्यवसाय गर्ने हो । एउटा सामान्य मजदुरी काम गर्नेको जीवन सजिलै चलेको छ । कस्तो जीवन बाँच्ने भनेर मानिसको सोच र चाहनामा फरक पर्छ । निजामती सेवामा लाग्ने मानिसको पनि जीवन सामान्य हुन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको छ । आम नागरिककोे जसरी काम गरेर आफ्नो दिनचर्या चल्छ, निजामती सेवामा हुनेको पनि जीवन सामान्य र सरल हुन जरुरी रहेको छ ।
कर्मचारीतन्त्र प्रतिको बुझाइ
नेपाल सरकारका कर्मचारी जसले आम जनताका काममा सहयोग गर्ने गर्छन् तर त्यहाँभित्र व्यक्तिगत सोच र आचरण पनि हुन्छ । सबै व्यक्तिको काम गर्ने शैैली एकअर्काभन्दा फरक पनि हुन सक्छ । त्यो फरकपन जनताले कसरी बुझ्छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ, जनताको माग सम्बोधन गर्न राज्यले सकिरहेको छैन । जनतालाई छिटो सेवा दिन हामीले प्रक्रिया पनि छोटो हुनुपर्छ । जनताले पनि आफूले लिने सेवासुविधाको मापदण्ड थाहा पाउन जरुरी रहेको छ । ज्ञान र सूचनाको अभावले पनि आम जनता र कर्मचारीको दूरी बढेको छ । सेवा लिने र सेवा दिने बीचको असमझदारी गर्दा पनि कर्मचारीले काम नगरेको आरोप लाग्दै आएको छ ।
काम र परिवारमा सन्तुलन
जागिरे जीवन र परिवार सन्तुलनमा राख्न परिवारको पनि उत्तिकै भूमिका र महत्त्व रहने उनले बताइन् । आफ्नो काम परिवारले बुझेनन् भने काममा नकारात्मक असर पर्ने उनको भनाई छ । उनले भनिन्, ‘कार्यालयको कामले गर्दा परिवारलाई सोचे जति समय दिन भने सकिँदैन तर फुर्सद मिलाएर परिवारलाई पनि समय दिने गरेकी छु ।’
‘परिवारको साथ र सहयोग विना यसलाई सन्तुलनमा राख्न अवश्य नै सकिँदैन,’ उनी भन्छिन्, ‘यसमा आफ्नो श्रीमान् कतिको सहयोगी छन् भन्ने कुरामा भर पर्छ । समय मिलाउन कर्मचारीका लागि एउटा चुनौतीको विषय हो ।’ काममा उत्कृष्टता देखाउन परिवारको उत्तिकै भूमिका रहेको छ, बिहान–बेलुकाको समय बच्चालाई दिने गरेको छु ।
निजामती क्षेत्रमा आउन चाहनेलाई सुझाव
हामीले एकदमै विशुद्ध राष्ट्रको सेवा गर्न यस क्षेत्रमा प्रवेश गर्ने हो । एउटा राष्ट्रको सेवा गर्ने अठोट जसले लिएर काम गर्न सक्छ, उसलाई निजामती क्षेत्र एकदम उत्कृष्ट थलो हो । सामान्य जीवनको परिकल्पना गर्ने मान्छे यस क्षेत्रमा सफल पनि हुन्छ । निजामती कर्मचारीले जस्तोसुकै परिस्थितिमा पनि काम गर्न सक्नुपर्छ । सरकारले दिएको सेवासुविधामा कर्मचारी सन्तुष्ट हुनुपर्छ अनि मात्र उसले देश र जनताको पक्षमा काम गर्न सक्छ ।