काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज सोमबार भएका २ छुट्टाछुट्टै खेलमा ओमान र हङकङ विजयी भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भयो । ओमानले जीतका लागि दिएको १५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२१ रनमा समेटियो ।
मलेसियाका लागि वीरनदीप सिंहले ५३ बलमा २ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे । जुबैदी जुल्फिकीले १४, अहमद फैजले १३ तथा स्याजरुल एजात इद्रुसले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका लागि बिलाल खान र जिशान मकसुदले समान २/२ विकेट लिए भने फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले समान १/१ विकेट लिए ।
टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए । मोहम्मद नदीमले ११ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाउँदै अविजित रहे ।
ओपनर कश्याप प्रजापतिले २५, प्रतीक अथवले १२, अकिब इलियासले ८, शोएब खानले ४ तथा मेहरान खान १५ रन बनाए ।
मलेसियाका विरनदीप सिंहले ३ विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले समान १/१ विकेट लिए ।
मूलपानी क्रिकेट मैदानमा आज सोमबारै भएको खेलमा हङकङले कुबेतलाई १६ रनले पराजित गरेको छ । हङकङले दिएको १६७ रनको लक्ष्य पछ्याएको कुबेत निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५० रनमा समेटियो ।
पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि मार्टिन कोट्जीले सर्वाधिक ८१ रन बनाए भने बाबर हयातले ३१ र निजाकत खानले २५ रनको योगदान दिए ।
कुबेतका लागि सैयद मुनिवले २ तथा मोहम्मद साफिक, मोहम्मद अस्लम र सिराज खानले १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको कुबेतको सुरुआत खराब रह्यो । उसले चौथो ओभरमै सुरुआती ३ विकेट गुमाएपछि दबाबमा पर्यो । उसका लागि उसमान पटेल र मोहम्मद अस्लामले पारी सम्हाल्ने प्रयास गरे पनि जीतका लागि भने पर्याप्त भएन । अस्लामले ५२ र पटेलले २९ रन बनाए । यी दुवैले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । कुबेतका लागि विलाल ताहिरले ३६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
हङकङका लागि अजिज खानले ३, एहसान खान र आयुष शुक्लाले २/२ विकेट लिए ।
यसअघि आज सोमबार बिहान भएका खेलमा समूह ‘ए’ अन्तर्गत नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो भने समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा यूएईले बहराइनलाई ५ विकेटले पराजित गरेको थियो ।
आज सोमबार भएका ४ वटा खेलपछि अंक तालिकामा समूह ‘ए’मा १/१ जीतका साथ नेपाल पहिलो र ओमान दोस्रो स्थानमा छन् भने मलेसिया र सिंगापुर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
समूह ‘बी’मा १/१ जीतका साथ हङकङ र यूएई क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् भने हारसँगै बहराइन र कुबेत क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।