काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठनारायणकाजी श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतमा ल्याउन प्रधानमन्त्रीसँग छलफल भइरहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालयको बजेट कटौतीसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले विभागलाई गृह मातहतमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग प्रारम्भिक छलफल भइरहेको बताएका हुन्।
उनले भने,‘राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा ल्याइयोस् भन्ने सुझाव प्राप्त भएको छ। यसअघि पनि राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयकै मातहतमा थियो। केपी ओली शर्मा प्रधानमन्त्री रहेको बेला यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याइएको थियो। त्यति बेला पनि पनि छलफल भएको थियो। अहिले पनि त्यो प्रधानमन्त्री कार्यालयको मातहतमै छ।’
गृहमा ल्याउनेबारे प्रारम्भिक छलफल भइरहेको र छिटै नै निष्कर्ष पुगिने उनको भनाइ छ।



























