काठमाडौं महानगरद्वारा शिक्षकलाई मासिक तलब दिनको लागि ३० करोडको कोष खडा

काठमाडौं महानगरद्वारा शिक्षकलाई मासिक तलब दिनको लागि ३० करोडको कोष खडा

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ ।

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोलले सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको बताएकी हुन् । हाल शिक्षकहरूले चौमासिक रूपमा तलब पाउँदै आएका छन् ।

काठमाडौ‌ं महानगरले प्रधानाध्यापकको मासिक भत्ता वृद्धि गर्ने घोषणा समेत गरेको छ । तर कति वृद्धि गर्ने भन्ने चाहिँ खुलेको छैन ।

काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ । यस अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च गरिने छ ।