मोरङ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।
उपप्रमुख शिल्पा कार्की निरालाले आगार्मी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरिन्।
आइतबार महानगरको १२ औँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै उनले स्रोत सुनिश्चितताको आधारमा केही सानो आकारको बजेट ल्याइएको बताइन्।
महानगरले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट ल्याएको थियो।
संघीय सरकारअन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ र प्रदेश सरकारतर्फबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, अन्य संघ संस्थातर्फबाट ३ करोड र नगद मौज्दातबापत २ करोड आय हुने प्रक्षेपण गरेको जानकारी दिइन्।
महानगरले पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड, आर्थिक विकासतर्फ ३ करोड ९६ लाख, सामाजिक विकासतर्फ ८५ करोड २० लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासनतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ।
महानगरलाई शैक्षिक हबका रूपमा विकास गर्ने भनिए पनि पूर्वाधार र आर्थिक, समाजिक विकासलाई प्राथमिकतामा राखेको छ।
त्यसैगरी, महानगरले वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरका लागि २० करोड विनियोजन गरेको छ।
यस्तै, महानगरले बहुवर्षीय गौरव योजना तथा क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड विनियोजन गरेको छ। हाल आरयुडिपीअन्तर्गत महानगरमा निर्माण भएका कालोपत्रे सडक मर्मतका लागि १० करोड छुट्टाएको छ।