काठमाडौं । प्रहरीले देशभरका विभिन्न स्थानबाट जुवातास खेल्ने ४६ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यमकुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार र ३ बुक ताससहित पक्राउ गरेको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–२ घर भएका ३९ वर्षीय पूर्णबहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५०० र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने विष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४१ वर्षीय दीपककुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९५५ र २५ गड्डी ताससहित पक्राउ गरेको छ ।
धादिङको निलकण्ठ नगरपालिका–३ एमाले चोक नजिक बस्ने आशीष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८२५ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
तेह्रथुमको लालिगुँरास नगरपालिका–२ प्रगति टोल बस्ने ३८ वर्षीय बीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार र ३ बुक ताससहित पक्राउ गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५८० र १ बुक ताससहित पक्राउ गरेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।