काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेका २ महिनामा १ अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ ।
गत आवको सोही अवधिमा कामपाले ९३ करोड ४१ लाख मात्र राजस्व संकलन गरेको थियो ।
राजस्व संकलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय काठमाडौं महानगरपालिकाको लामो समयदेखिको बक्यौता रकम उठ्न थालेको छ । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व संकलन गर्न थालेसँगै लामो समयदेखि असूलउपर हुन नसकेको बक्यौता रकम उठ्नुको साथै करदाता संख्या बढेको बताइएको छ ।
लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताहरूका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व संकलनमा सहज भएको छ ।
यसअघि राजस्व तिर्नका लागि वार्षिक ३ लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढी रकम तिर्न कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए ।
प्रत्येक वडा कार्यालयबाट राजस्व संकलनको व्यवस्थासँगै वडा सदस्य र कर्मचारीको नेतृत्वमा सचेतना कार्यक्रम सञ्चालन गर्दा राजस्व संकलनमा थप सहजता भएको प्रमुख काफ्लेले जानकारी दिए ।
हाल कामपामा सम्पत्ति कर र बहाल कर बुझाउने करदाताको संख्या उल्लेख्य बढेको कामपाको भनाइ छ । हाल कामपामा करीब ४ लाख करदाता रहेका छन् । हाल कामपाले सम्पत्ति कर, बहाल कर, मनोरञ्जन कर, व्यवसाय, विज्ञापन कर गरी मुख्य ९ शीर्षकमा कर संकलन गर्दै आएको छ ।
चालू आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालू आवको साउन र भदौमा २४ करोड बढी राजस्व असूल भएको छ ।
चालू आवको २ महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड राजस्व असूल भएको छ ।
गत वर्षभन्दा यसवर्ष सम्पत्ति करमा मात्रै ६४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता बढेका छन् । पछिल्लो समय मात्रै १ हजार ३०० करदाता थपिएका छन् । कामपाले बक्यौता रकम असूल गर्न छुट दिएको छ ।