काठमाडौं । आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिँदा सहयोग गर्न इन्कार गर्ने परिवारका सदस्यलाई कारबाही हुने भएको छ।
नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ मा असहयोग गर्ने परिवारका सदस्यलाई तीन महिना कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको हो ।
नागरिकता ऐनको दफा ८ को उपदफा ३ पछि नयाँ व्यवस्था थपिएको छ। जसमा नागरिकता लिने व्यक्तिले प्रमाण पेश गर्न नसकेमा परिवारजनले सनाखत गर्नुपर्ने उल्लेख छ । परिवारका सदस्यमा बाबु, आमा, पति, पत्नी, हजुरबुबा, हजुरआमा, दाजु, दिदी, काका, काकी, जेठाजु र देवर भनेर तोकिएको छ ।
नयाँ व्यवस्थामा भनिएको छ- ‘प्रमाण पेश हुन नसकेमा तोकिएको अधिकारीले परिवारका सदस्यलाई सम्बन्धित कार्यालयमा उपस्थित हुन म्याद जारी गरी झिकाइ सनाखत गर्न लगाउनुपर्नेछ।’
नेपालको नागरिक आमाबाट जन्मेको, नेपालमा जन्म भइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई नागरिकता दिने व्यवस्था गरिएको हो ।
यसमा आमाले बाबुको पहिचान हुन नसकेको स्व:घोषणाका आधारमा नागरिकता दिन सकिने उल्लेख छ ।
नागरिकता लिन निवेदन दिने बेलामा आमाको मृत्यु भए परिवारका सदस्यले सनाखत गर्नुपर्ने हुन्छ ।
सनाखत गर्दा परिवारका सदस्यले सहयोग गर्न इन्कार गरेमा कारबाही हुने भएकाे हाे ।
गत बिहीबारदेखि नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेको थियाे ।



























