पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा पार्टीले आफ्नो सिद्धान्त छाड्न नहुने बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलनको आज बुधबार पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा. कोइरालाले भने, ‘सिद्धान्तहीन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।’
नेता कोइरालाले कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गरे । अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उनको भनाइ थियो । ‘कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ,’ उनले भने ।
अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भने, ‘महंगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ । महंगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ । वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ ।’
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए । उनले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांगे्रसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलब्धि भएको उनले बताए ।