काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्दा गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकाे हाे ।
हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्दा अनियमितता भएको भन्ने उजुरी निवेदन आएसँगै यससम्बन्धमा अनुसन्धान भएकाे थियाे । अनुसन्धानका क्रममा उनीहरू दाेषी ठहरिएका हुन् ।
अनुसन्धानका क्रममा कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख झा र तत्कालीन सव-इन्जिनियर भीम रोकायले आ.व. २०७६/०७७ मा कृषि विकास कार्यालय, हुम्लामार्फत व्यावसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत दिइएको अनुदानबाट फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाइ गलत नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोहीबमोजिम झुट्टा बिल भरपाइ बनाइ फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई रु. ४ लाख, ३८ हजार ५ सय ५७.८२ बराबरको हानीनाेक्सानी पुर्याएको अख्तियारको ठहर छ ।
यस्तै, अदानचुली गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा र फलफुल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा (कार्की) भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।