काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ओमानसँग पराजित भएको छ ।
कीर्तिपुर मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनको हार ब्यहोरेको हो । ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४० रनमै समेटिएको हो ।
नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
ओमनका लागि सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई/दुई तथा बिलाल खान र जीसम मक्सूदले एक/एक विकेट लिए। यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।
ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।
नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई तथा गुल्सन झा र अविनाश बोहराले एक/एक विकेट लिए।
यससँग ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।