काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक १०.८६ अंकले घटेको छ। नेप्से परिसूचक ०.५८ प्रतिशतले घटेर १८४७.७० बिन्दुमा बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत कारोबार दिन ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ९६ करोड ४४ लाख ७७ हजार ७११ रुपैयाँ पुगेको छ।
२८१ वटा धितोपत्रको ३७ लाख ४९ हजार ९५४ कित्ता सेयर किनबेच भएको हो। बिहीबार चन्द्रागिरी हिल्सको सेयर मूल्य सर्वाधिक ६.०४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १२४ रुपैयाँ पुगेको छ।
यस्तै, हिमालयन लघुवित्तको सेयरमूल्य ५ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयरमूल्य ६३० रुपैयाँ कायम भएको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५०२ रुपैयाँ २० पैसामा झरेको छ।
यस्तै, रावा इनर्जीको सेयर मूल्य ७.४६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२७ रुपैयाँ ५० पैसामा सीमित भएको छ। बिहीबार आशा लघुवित्तको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको १० करोड १० लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा प्राइम कमर्सियल बैंकको संस्थापक सेयर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता १४४ रुपैयाँ १० पैसामा ६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.२७ प्रतिशतले बढेको छ। यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले घटेको छ।