काठमाडाैं । बुटवल उपमहानगरपालिकाले आगामी आव २०८०र०८१ का लागि २ अर्ब ३६ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सभाको १३ औं नगर अधिवेशनमार्फत चालु वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको थियो ।
प्रस्ताव गरिएको बजेटमा संघीय सरकारबाट समानीकरण ३० करोड १७ लाख, ससर्त अनुदान ४७ करोड ९२ लाख, समपुरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड तथा प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ३१ लाख, ससर्त अनुदान २ करोड ९ लाख, समपुरक अनुदान २ करोड प्राप्त हुने उल्लेख गरिएको छ ।
राजस्व बाँडफाँडबाट ३१ करोड ८५ लाख, आन्तरिक आय ९१ करोड र चालु आवको बाँकी २६ करोड ३८ लाख हुने अनुमान गरिएको छ ।
बुटवल उपमहानगरले उपलब्ध स्रोत साधन, क्षमता र अवसरको परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरवासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने बजेटमा उल्लेख छ । त्यस्तै कर प्रशासनलाई चुस्त बनाउन र कर असुलीका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरेर अघि बढ्ने पनि बजेटमा उल्लेख छ ।



























