काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मूलपानी त्रिकेट मैदानमा आज बिहीबार भएको खेलमा कुवेतले बहराइनलाई ४ विकेटले पराजित गरे तापनि नेट रनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो ।
समान अंक भए पनि हङकङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (यूएई) ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।
बहराइन, हङकङ र कुवेतको समान २ अंक थियो तर बहराइनको नेटरनरेट माइनस ०.३९८, हङकङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रहेको कारण बहराइन सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा बहराइनले ओमानसँग खेल्नेछ ।
आजको खेलमा बहराइनले प्रस्तुत गरेको १५९ रनको लक्ष्य कुवेतले १६ दशमलव ३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतका लागि उस्मान पटेलले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिएका हुन् ।
कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले समान १५–१५ रन जोडे । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २–२ विकेट लिए भने अब्दुल माजिदले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि इम्रान अनवरले सर्वाधिक ३७ रनको योगदान दिए । इम्रान अली र कप्ताम उमर टुरले समान २२–२२, हैदर बटले १८, सोहिद अहमले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले समान ११–११ रन बनाए ।
दुवै सेमिफाइनल खेल भोलि शुक्रबार बिहान ११ः०० बजे सुरु हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।
दुवै सेमिफाइन खेलका विजेता टोलीले आगामी सन् २०२४ मा हुने विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।