तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ ।
यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पताल प्रमुख डा. परिवर्तन बरालको टोलीले मुख्यमन्त्री पाण्डेसँग अस्पतालको स्तरोन्नतिका विषयमा छलफल गरेको छ ।
छलफलमा प्रदेशका सामाजिक विकास स्वास्थ्यमन्त्री सुशीला सिंखडा, प्रमुख सचिव लक्ष्मीकुमार बस्नेत, मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्मा समेत सहभागी थिए ।
१५ शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए । उनका अनुसार विक्रम संवत् २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।
तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन नसकेको थापाको भनाइ छ । बढ्दो चापसँगै अस्पताललाई पचास शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताए ।
अस्पताल विस्तारका लागि संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ ।