खोटाङ । फूलैफूलको चाड तिहार अर्थात् भाइटीका यो वर्ष कात्तिक २९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ तर यस वर्ष खोटाङमा तिहारअघि नै फूल फुलेपछि दिदीबहिनीहरू चिन्तित बनेका छन् ।
विगत वर्षमा तिहार अर्थात भाइटीकाभन्दा ७–१० दिनअघि मात्रै फुल्ने फूलहरू यस वर्ष जिल्लाका अधिकांश गाउँहरूमा दशैं अगाडि नै फुलेका छन् ।
कतिपय गाउँमा रोपिएका फूलहरू फुलेर ओइलाइसकेका छन् भने कतिपय गाउँमा ढकमक्क छन् ।
माँझकिरात भनेर चिनिने खोटाङका अधिकांश किरातवस्तीमा भाइटीकादेखि हरिबोधनी एकादशीसम्म तिहार मनाउने चलन छ । एउटा घरका चेली (दिदीबहिनी) ले गाउँभरिका माइती (दाजुभाइ) लाई फूलमाला लगाइदिने गर्छन् ।
माइती पुज्नका लागि रोपिएका फूल तिहार अगाडि फुलेपछि आफू चिन्तित बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटकी आस्था मगरले गुनासो सुनाइन् । ‘तिहार आउन अझै १३ दिन बाँकी छ । अहिले नै फूल टिपेर राखौं भने चिस्यान केन्द्र छैन,’ उनले भनिन्, ‘बारीको डिलभरि फुलेका फूलहरू जम्मा गर्ने हो भने धेरै मूल्यका छन् । सबै फूल बढीमा हप्तादिन रहन्छ होला । यस वर्ष कसरी फूलले पुर्याउने भनेर सोचिरहेकी छु ।’
खार्मीस्थित बोहोरीबोटमा धेरै माइती भएका चेलीको एउटै घरमा १५० भन्दा बढी फूलका माला प्रयोग हुने गरेको छ । धेरै माइती भएका चेलीहरू तिहारका लागि फूलको माला जोहो गर्न सयपत्री, गोदावरी र मखमली फूलको विकल्पमा जंगलमा पाइने फूल प्रजातिको चुरी र चुलेथ्रो खोज्न थालेका छन् ।
बोहोरीबोटमा एउटै बंशका ४८ घर दुमी राईहरू बसोबास गरेका छन् । उनीहरू एउटा घरमा फूलमाला लगाइसकेपछि सबै जना जम्मा भएर पुनः अर्को घरमा गएर सामूहिक रूपमा फूलमाला लगाउने गर्छन् ।
छोरीचेली र बाउमाइती हुल बाँधेर गीत गाउँदै गाउँभरि डुलेर फूलमाला लगाउँदा रमाइलो समेत हुने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताए । ‘तिहार छोरीचेली र बाउमाइती भेट हुने र शुभकामना आदानप्रदान गर्ने प्रमुख चाड हो । हामी यसलाई विशेष तरिकाले मनाउँदै आएका छौं,’ टोल सुधार समिति बोहोरीबोटका अध्यक्ष समेत रहेका उनले भने, ‘यस वर्ष तिहार अगाडि नै फूलहरू फुलिसकेका छन् । विगतमा जस्तो फूलैफूलको माला लगाउन पाइएला जस्तो छैन । यस वर्षको तिहार अलि खल्लो होला जस्तो छ !’
शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले लगाएको फूल खेती पनि फुलिसकेका छन् । शुभम्का विद्यार्थीले यस वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली प्रजातिका फूलहरू रोपेका थिए ।
विगत वर्षहरूभन्दा यस वर्षको तिहार ढिलो भएकाले पनि फूलहरू फुलिसक्न लागेको शुभम्का प्रबन्ध/निर्देशक सूर्यबहादुर राईले बताए । ‘विद्यार्थीहरूले यस वर्ष १० रोपनी जग्गामा फूल खेती गरेका थिए । सबै फूलहरू अहिले ढकमक्क फुलेका छन् । पहिलो चरणमा फुलेका फूललाई बीउको रूपमा प्रयोग गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यो अर्गानिक फूल हो । छिमाल–छिमाल फुल्छ । दोस्रो, तेस्रो छिमालको फूल चाहिँ तिहारका लागि बिक्री गर्ने तयारी गरिएको छ ।’
कुटोकोदालोदेखि कम्प्युटरसम्म अध्ययन/अध्यापन हुने शुभम् फाउन्डेसनका विद्यार्थीले उत्पादन गरेका फूलहरूमध्ये सयपत्री प्रतिकेजी २०० रुपैयाँमा बिक्री गर्ने योजना रहेको जनाइएको छ । १ केजी सयपत्री फूलको ४ वटा माला हुने प्रबन्ध/निर्देशक राईले जानकारी दिए ।
खोटाङ फूल उत्पादनका लागि उपयुक्त भूगोल भएको जिल्ला भए पनि कृषकहरूले अहिलेसम्म व्यावसायिक रूपमा फूल खेती गरेका छैनन् । जिल्लाका स्थानीय तहहरूले व्यावसायिक फूल खेतीका लागि कार्यक्रम बनाए पनि कार्यान्वयन भएको छैन ।
२ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा फूलैफूलको चाड तिहार नजिकिएसँगै प्लाष्टिकका फूलहरूको बिक्री बढ्न थालेका छन् । प्लाष्टिकका फूल लगाउनु स्वास्थ्यका लागि हानिकारक हुने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।
तिहार अर्थात् भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई फूलमाला लगाइदिएर मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने र दिदीबहिनीलाई दानदक्षिणा दिने चलन छ । परापूर्वकालदेखि मानिँदै आइएको तिहार चाडले धार्मिक महत्त्व समेत बोकेको छ ।