काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला आयोजना अगाडि बढ्दा स्थानीयको सहयोग र सहभागिता सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन् ।
माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले भने, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ ।’
संखुवासभामा निर्माण हुन लागेको १ हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको बताए ।
मन्त्री डा. महतले भने, ‘संखुवासभावासीका लागि यो महत्त्वपूर्ण आयोजना हो, अब यो आयोजना अगाडि बढ्छ । हरेक ठूलो आयोजना कार्यान्वयनका लागि पूर्व तयारी महत्त्वपूर्ण हुन्छ, जुन देखिँदैन ।'
‘बाटोको अभावमा आयोजना प्रभावित हुँदैन । जहाँबाट र जसरी पनि श्रोत जुटाएर हामी यो बाटो पनि निर्माण गर्छौं,’ मन्त्री डा. महतले भने, ‘यहाँका समस्यालाई चाँडै टुंगो लगाउँछौं । यहाँका स्थानीयले चाहेजति शेयर पाउने छन् ।’
माथिल्लो अरुण आयोजनाभन्दा तल अन्य २ वटा आयोजना अगाडि बढिरहेको छ । ‘हरेकको समय आउँछ, भोटेखोला र संखुवासभाको समय आएको छ । विश्व बैंकका प्रतिनिधि आहाना लगायतको टीम यही आउनुभएको छ । यसले आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ,’ मन्त्री डा. महतले भने, ‘कोशी प्रदेशमा जलविद्युत्ले रूपान्तरणको ठूलो सम्भावना देखिन्छ । यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउने मात्र होइन, यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्नेछ । स्थानीयको आर्थिक र सामाजिक सहभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’
आयोजनाको निरीक्षण गर्न मन्त्री डा. महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली भोटखोला पुगेको थियो । प्राधिकरणको गौरवको आयोजनाका रूपमा माथिल्लो अरुणलाई निर्माण थालिएको हो । मन्त्री डा. महतले भने, ‘ऊर्जा मन्त्रालयले यो आयोजना अगाडि बढाउन धेरै अगाडिदेखि गृहकार्य गरिरहेको छ । अब यो आयोजना कार्यान्वयन तहमा पुग्दैछ । यो आयोजनामा लगानी गर्न विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकले अन्य दाताहरु पनि जुटाउँदैछ, त्यसमा एसियाली विकास बैंक पनि पर्छ ।’
माथिल्लो अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा २ हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ ।