काठमाडौं । भूकम्पका कारण कर्णालीकोे जनजीवन नराम्रोसँग प्रभावित भएको छ । विशेष गरी भूकम्पको केन्द्रविन्दु भएको जाजरकोटको अबस्था निकै प्रभावित छ ।
त्यहाँ मात्रै ६९ महिला र ३१ पुरुष गरी १०० जना मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यस्तै अहिले सम्मको प्राप्त तथ्याङका अनुसार भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १३८ पुगेको छ ।
गएराति ११ बजे जाजरकोटको बारेकोट १ रामीडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड, बारेकोट लगायतका क्षेत्रमा क्षति पुगेको छ ।
भूकम्पबाट प्रभावित कर्णालीको अवस्था र तत्कालको चुनौतिबारे जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्मासंग व्यवस्था डटकमका संवाददाता रोशन भट्टराईले गरेको कुराकानी..
जाजरकोटमा अहिलेसम्मको डाटाको विवरण कस्तो छ र घाइतेहरूको उद्धारको कार्य कसरी चलिरहेको छ ?
विभिन्न पालिका हरूमा गरेर अहिले सम्मको डाटा अनुसार ९५ जनाको मृत्यु भएको छ । उद्धारको काम चलिरहेको छ । उद्धारमा सबै सुरक्षाकर्मी साथीहरू खटिरहनु भएको छ । दुर्गम ठाउँमा बाटो अवरोध भएको कारणले अलि अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । स्थानीय बाटोका माध्यमबाट उद्धार गर्न नसकिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ । घाइतेको सन्दर्भमा कतिपय उपचारका क्रममा हुनुहुन्छ भने कतिपय घर फर्किएको अवस्था छ । गम्भीर घाइते भएकालाई रेफर गरेर सुर्खेत र नेपालगन्ज पठाइएको छ । केही केन्द्रबाट आउनुभएका मेडिकल टिमले पनि उपचारमा सहयोग गरिरहनु भएको छ ।
अहिलेसम्म प्राप्त विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति कहाँ भएको देखिन्छ ?
सबैभन्दा बढी क्षती नलगाड नगरपालिमा भएको छ । उक्त पालिकामा मानवीय क्षति धेरै भएको छ । सो पालिकामा हाल सम्म ५३ जनाले ज्यान गुमाएको अवस्था रहेको छ । भेरी नगरपालिकामा पनि ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुशे गाउँपालिकामा ७, छेडागाड र बारेकोट गाउँपालिकामा १÷१ जनाले ज्यान गुमाएका छन् ।
संघ संस्थाहरूको सहयोग, समन्वय कसरी भइरहेको छ ?
अहिले सबै संघ संस्थाबाट बलियो सहयोग पाएका छौं । सबै जना उद्धार कार्यमा खटिरहनु भएको छ । संघ संस्था मात्र नभएर निजी क्षेत्रको पनि साथ सहयोग रहेको छ । भौतिक र आर्थिक साथ सहयोग भइरहेको छ । संस्थाका सवारी साधन पनि उद्धार कार्यमा प्रयोग भइरहेका छन् । अहिले मुल त मानवीय उद्धारको काम प्राथमिकतामा रहेको छ । घाइतेलाई अस्पतालमा छिटो भन्दा छिटो लैजाने कार्यमा खटिरहेको अवस्था छ । जिल्लाका दुर्गम भगेमा हेलिकप्टरबाट समेत उद्धार कार्य जारी रहेको छ । सुरक्षा निकायले पनि आफ्नो भूमिका गहन रूपमा नभएका छन् । हामी राति देखि नै उद्धारमा खटिएका थियौ । केन्द्र देखी स्थानीय तहसम्म नै सहकार्य र समन्वय भएको छ ।
अहिले सबैभन्दा बढी फेस गरिरहेको चुनौती के हो ?
अहिलेको सबैभन्दा ठुलो चुनौती बिहान सम्म सम्पर्क हुन सकेको थिएन । कतिपय ठाउँमा हामीले रातिबाटै, उद्धारको प्रयास गरे पनि सकेका थिएनौ । डाँडामा छरिएर रहेका घरमा रोडको पहुँच पनि नभएकाले अलि अप्ठ्यारा भएको थियो । सञ्चारको पहुँच पनि नभएकाले डाटा सङ्कलनमा पनि चुनौती रह्यो ।
अर्को चुनौती रातीको समय भएकाले तत्काल उद्धार गर्न सकिएन । दुर्गम र पहाडी भेग भएको कारणले सवारी साधनको राम्रो सुविधा नभएकाले पनि थोरै चुनौती रह्यो ।