तनहुँ । जिल्लाको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न सुरु गरेको छ ।
विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्थामार्फत नगरपालिकाले बीउ वितरण सुरु गरेको छ ।
नगरपालिकाले जनकदेव र एमएस ४२.३ उन्नत जातका करीब ४० टन आलुको बीउ वितरण सुरु गरेको छ । उन्नत जातको बीउ वितरण गर्न नगरपालिकाले २० टन १७७ केजी जनकदेव रातो र १८ टन ९५५ केजी एमएस निलो गरी कूल ३९ टन ५०७ केजी उन्नत जातका आलुको बीउ ल्याएको कृषि, पशुपन्छी तथा सहकारी विकास शाखा प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए ।
नगरपालिकाका १४ वटै वडाका किसानको माग अनुरूप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई टोल विकास संस्थाबाट आलुको बीउ वितरण गरिने शाखा प्रमुख विश्वकर्माले जानकारी दिए । उनले भने, ‘प्रत्येक वडाबाट सिफारिस भई आएका मागका आधारमा सम्बन्धी टोल विकास संस्थालाई बीउ उपलब्ध गराएका छौं, टोल संस्थाबाट नै किसानलाई बीउ वितरण हुनेछ ।’
उन्नत जातको जनकदेव आलुको बीउको मूल्य प्रतिकिलो ३२ रुपैयाँ ५ पैसा कायम गरिएको छ भने एमएस उन्नत जातको आलुको बीउको मूल्य प्रतिकिलो २७ रुपैयाँ ५ पैसा कायम गरिएको छ । आजदेखि १४ वटै वडाका टोल विकास संस्थालाई आलुको बीउ वितरण गर्न सुरु गरिएको छ । जसअनुसार वडा नम्बर १ मा ७०० केजी जनकदेव, वडा नम्बर ३ मा ३६५ केजी एम एस, वडा नम्बर ४ मा ६९५ केजी एमएस, वडा नम्बर ५ मा ३ हजार ७४० केजी एमएस र ३ हजार १४५ केजी जनकदेव आलुको बीउ वितरण गरिएको छ ।
वडा नम्बर ६ मा ३७० केजी एमएस र ३ हजार ८५० केजी जनकदेव, वडा नम्बर ७ मा २६० केजी एमएस र १ हजार ११० केजी जनकदेव, वडा नम्बर ८ मा २ हजार ६३५ केजी एमएस र १ हजार ९३० केजी जनकदेव, वडा नम्बर ९ मा १ हजार ५८० केजी एमएस र २ हजार ६५५ केजी जनकदेव, वडा नम्बर १० मा ३ हजार ६८५ एमएस र २ हजार ५३२ जनकदेव, वडा नम्बर ११ मा ४ हजार ४५७ केजी एमएस र २ हजार ३५५ जनकदेव, वडा नम्बर १२ मा ३१२ केजी एमएस र ६२० जनकदेव, वडा नम्बर १३ मा ५४५ केजी एमएस र ३४० केजी जनकदेव, वडा नम्बर १४ मा २९० केजी एमएस र ९५० केजी जनकदेव आलुको बीउ वितरण गरिनेछ ।
नगरपालिकामा करीब ६०० रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको छ । आलुमा अनुदान दिन थालिएपछि यहाँका कृषक यसतर्फ आकर्षित हुँदै गइरहेका छन् ।