काठमाडौं । गत शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन भने १ सय ५७ जनाको मृत्यु भैसकेको छ । भूकम्पमा परी २५६ जना घाइते भएका छन ।
भूकम्पका कारण करीब २० हजार मानिस घरबारविहिन भएको गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको अनुमान रहेको छ । हालसम्म जारजरकोटमा मात्रै १ सय ५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्य भएको तथ्याङ्क मन्त्रालयको छ । भूकम्पले संरचना भत्कीदाँ जाजरकोटमा १ सय १२, रुकुम पश्चिममा १ सय ३२, सल्यानमा २, रोल्पामा १ , दैलेखमा ३, बैतडीमा ३ र जुम्लामा ३ जना घाइते भएका छन् ।
भुकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान समेत एघार जिल्ला प्रत्यक्ष प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ ।
विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाको आइतबार ४ बजेसम्मको तथ्याङ्क अनुसार भुकम्पले रुकुम पश्चिम बाहेकका १० जिल्लामा ३ हजार ८ सय ९१ घरमा क्षती पुगेको छ । जसमध्य ९ सय ३७ घरमा पूर्ण र २ हजार ९ सय ५४ घरमा आंशिक क्षती पुगेको छ । शाखाका अनुसार जाजरकोटमा सबैभन्दा धेरै मानविय र भौतिक क्षती भएको छ ।
भुकम्पले जाजरकोटमा दुई हजार ६ सय ८५ घरमा आंशिक र ९ सय ५ घरमा पूर्ण क्षति गरेको छ । यस्तै, रुकुम पूर्वमा १ सय १८ घरमा आंशिक र ५ वटा घर पूर्णरुपमा क्षती भएको छ । यसैगरि सल्यानमा ९७ घरमा आंशिक र २५ घर पूर्ण रुपमा क्षती भएको छ । यस्तै, दाङमा ६, प्युठानमा २९ र दैलेखमा एउटा घरमा आंशिक क्षति पुगेको छ । पश्चिम रुकुममा भएको भौतिक क्षतिको भने विवरण नआएको महाशाखाले जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा खोज तथा उद्धारमा एक हजार ५६१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प अति प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा केही राहत सामग्री वितरण गरिएको छ । हालसम्म जाजरकोटमा त्रिपाल ५०० थान, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट पीडितहरूलाई प्रदान गरिएको छ ।
यस्तै, रुकुम पश्चिममा १०० थान त्रिपाल, ५० थान स्लिपिङ ब्याग र १०० थान ब्ल्याङ्केट वितरण गरिएको छ । यस्तै, भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीका ८ जना, नेपाली सेनाका ३ जना, वीर अस्पतालका ७ जना र रुकुम पूर्वबाट ४ जना चिकित्सकसहितका मेडिकल टोली खटिएका छन् । जारजरकोट केन्द्रबिन्दु बनाएर गत शुक्रबार मध्यराति ६ दशमलब ४ म्यानिच्युडको भुकम्प गएको थियो ।