काठमाडौं । भिजिट भिसामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोटको सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई हाल काठमाडौंको नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापाको भद्रपुर नगरपालिका–१० भई काठमाडौंको बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रवक्ता रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भनी नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न बलबहादुर रावत समेत ४ जनालाई कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएकोमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुनसक्ने देखिएकाले थप अनुसन्धान गर्ने क्रममा निजलाई पक्राउ गरिएको छ ।
निजहरूलाई विभिन्न व्यक्तिहरूका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप २३० वटासहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी लिखत सम्बन्धी कसूर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।
आईतबार मात्रै प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यानको रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।