काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली संघले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् ।
‘यसो गर्दा युरोपेली संघले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भनिन् ।
भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह धेरै सानो रहेको र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताइन् ।
इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु आवश्यक रहेको बताएकी छन् ।
उनले भनिन्, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्वीर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’
भोन डेर लेयेनले कूटनीतिज्ञहरूसँग भनिन्, ‘द्वन्द्व चर्किरहेका बेला पनि २ राज्य समाधानका लागि वातावरण हुनु आवश्यक छ ।’
उनले युद्ध रोकिएपछि गाजा आतंकवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताएकी थिइन् ।
उनले भनिन्, ‘यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्रसंघको म्यान्डेटअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ ।’
इजरायली सेनाले सोमबार गाजामा प्यालेस्टिनी लडाकूलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा मृत्यु हुनेको संख्या १० हजार पुगेको छ ।
इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणमा १ हजार ४०० जनाको मृत्यु हुनुका साथै २४० भन्दा बढी बन्धक बनाइएका हमासलाई ध्वस्त पार्न कटिबद्ध प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताए । उनले युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानका बाबजुद यही अवस्थामा कुनै पनि हालतमा कारबाही नरोकिने प्रतिबद्धता व्यक्त गरेका छन् ।