जोखियो पशुपतिको जलहरी, परीक्षण प्रतिवेदन अख्तियारमा

जोखियो पशुपतिको जलहरी, परीक्षण प्रतिवेदन अख्तियारमा

काठमाडौं । पशुपतिनाथको स्वर्ण जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ ।

जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

जलहरीलाई पुन : मर्मत गरी मंगलबार पशुपतिमा चढाउने निर्णय भएको छ । सोमबार नेपाली सेनाको सुरक्षामा शिलबन्दी गरी पशुपतिको रुद्रगारेश्वरमा निर्मित लकरमा राखिएको छ।

मंगलबार ज्योतिर्लिङ्गमा राखिनेछ । जलहरी नाप जाँचको प्रतिवेदन अख्तियारले आज लिएर गएको छ । जलहरी आइतबार मध्यरातसम्म लगाएर जोखिएको हो ।

गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, पशुपति क्षेत्र विकास कोष र चार वटै सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा परिमाण, गुणस्तर एवं धातुको मात्रा परीक्षण गरिएको हो ।

जलहरी जाँच्न आइतबार दिउँसो १ बजेबाट पशुपतिनाथ मन्दिर परिसर प्रवेशमा रोक लगाएर जलहरी परीक्षण गरिएको थियो । जलहरीको परीक्षण प्रतिवेदन दुई वर्षदेखि अनुसन्धानमा छ ।