कास्की । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलले ७ दिनको पारिश्रमिक जाजरकोट भूकम्प पीडितलाई प्रदान गर्ने निर्णय गरेको छ ।
दलका प्रमुख सचेतक कुशुम बुढा पुनले दलको आज मंगलबारको बैठकले दलका सदस्यहरूको १ हप्ताको पारिश्रमिक भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘विपद् र शोकको घडीमा राहत र उद्धारमा सहयोग पुर्याउन दलको तर्फबाट सो सहयोग रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हौं,’ पुनले भने । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभामा सभामुखसहित ८ सदस्य छन् ।
माओवादी संसदीय दलले गत कात्तिक १७ गते राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्थास्थ्य लाभको कामना गरेको छ । गण्डकी प्रदेश सभामा रहेका ठूला ३ वटै दलले भूकम्प प्रभावितका लागि राहत प्रदान गर्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसले प्रदेशसभा सदस्यहरूको १५ दिनको तलब राहत स्वरुप प्रदान गर्ने यसअघि नै घोषणा गरिसकेको छ । नेकपा एमालेले पनि राहत कोषमा प्रदेशसभा सदस्यहरूको १ हप्ताको तलब जम्मा गर्ने निर्णय गरिसकेको छ ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा कास्कीका विभिन्न संघसंस्था तथा निकायले सहयोग गरेका छन् । भूकम्प प्रभावितका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि राहत सामग्री पठाएका छन् । गण्डकी प्रदेश सरकारले प्रभावितहरूका लागि १ करोड सहयोग गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरपालिकाले ५० लाख बराबरको राहत सहयोग गर्ने निर्णय गरेको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले दुवै जिल्लाका प्रभावितको लागि १/१ लाखको दरले राहत पठाएको छ ।